काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना गर्ने भएको छ।
नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन, स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले कात्तिक २१ देखि २३ गतेसम्म मेला आयोजना गर्न लागेको हो।
मेला काठमाण्डौको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा सञ्चालन हुनेछ।
कम्पनीका अनुसार मेलामा तिहार विशेष परिकार, परम्परागत खाद्य सामग्री, फूलमाला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली, कृषि उपज तथा अन्य मौलिक र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ।
मेलामा आफ्ना उत्पादन बिक्री तथा प्रदर्शन गर्न चाहने कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी र रैथाने तथा स्थानीय उत्पादनसँग सम्बन्धित व्यवसायीलाई स्टल सहभागिताका लागि आवेदन दिन कम्पनीले आह्वान गरेको छ।
मेलामा एउटा स्टलका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
इच्छुक उत्पादक तथा उद्यमीले आफ्नो व्यावसायिक विवरण, उत्पादनको प्रकृति र स्टल सहभागितासम्बन्धी प्रस्ताव कम्पनीको इमेलमार्फत पेस गर्न सक्नेछन्।
प्राप्त आवेदन तथा प्रस्तावको मूल्यांकन व्यावसायिक उपयुक्तता, उत्पादनको मौलिकता, गुणस्तर तथा मेलाको उद्देश्यसँगको सान्दर्भिकताका आधारमा गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।