काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा आजदेखि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ लागू भएको छ ।
उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले सरकारले ऐन कार्यान्वयनमा ल्याएको हो । यसअघि गत १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ऐन लागू गर्ने निर्णय गरिएको थियो ।
निर्धारित कार्यतालिकाअनुसार पहिलो चरणमा आजदेखि काठमाडौं उपत्यकामा ऐन लागू भएको हो । दोस्रो चरणमा आगामी १ माघदेखि उपत्यकाबाहिरका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा तथा तेस्रो चरणमा १ साउन २०८४ देखि बाँकी गाउँपालिकामा ऐन कार्यान्वयन गरिनेछ ।
ऐन कार्यान्वयनको सुरुवात काठमाडौंको भ्याली कोल्ड स्टोर, भक्तपुरको मध्यपुर थिमिस्थित न्यु पञ्चकन्या वधशाला र ललितपुरको एभरेस्ट बंगुर वधशालाबाट मासु जाँच तथा छाप लगाउने प्रक्रियासहित गरिएको पशु सेवा विभागले जनाएको छ ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार ऐन कार्यान्वयनका लागि सहसचिवको नेतृत्वमा आठ सदस्यीय उच्चस्तरीय संयन्त्र र स्थानीय तहसँग समन्वय गर्न १२ वटा कार्यदल गठन गरिएको छ ।
त्यस्तै, आवश्यक तालिम प्रदान गरी छाप तथा अन्य सामग्रीसहित २४० जना मासु निरीक्षक परिचालनका लागि तयार राखिएको छ । जसमध्ये काठमाडौंमा १४७, ललितपुरमा ५८ र भक्तपुरमा ३५ जना खटाइनेछन् । प्रत्येक स्थानीय तहमा एक जना सुपरिवेक्षकसमेत परिचालन गरिने विभागले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।