काठमाण्डौ । विश्व बजारमा तामाको मूल्य प्रतिटन १० हजार डलर बढी पुगेको छ । लगानीकर्ताले चीनले आर्थिक गतिविधि बढाउने नीति अपनाउने अपेक्षा गरेसँगै विश्व बजारमा तामाको मूल्य वृद्धि भएको हो ।
विश्वको सबैभन्दा ठूलो तामा उपभोक्ता, चीनले मध्य जुलाईमा आयोजना गर्न लागेको तेस्रो प्लेनम बैठकमा नविकरणीय उर्जा पूर्वाधारलाई उकास्न थप योजनाहरु सार्वजनिक गेर्न अपेक्षा गरिएको छ ।
यी अतिरिक्त उपायहरु घरेलु सम्पत्ति र ग्रिड लगानीहरुप्रति लक्षित हुने र यसले आगामी दिनमा तामाको मूल्य थप वृद्धि हुने सिटी बैंकका विश्लेष्कले बताएका छन् । अहिले तामाको मूल्यमा कमी देखिनुको मुख्य कारण विश्वव्यापी रुपमा औद्योगिक उत्पादनमा देखिएको कमी नै मुख्य कारण रहेको र यो प्रवृत्ति अल्पकालिन मात्रै हुने सिटी बैंकले दाबी गरेको छ ।
विश्वका मुख्य केन्द्रीय बैंकहरुले गरिरहेको ब्याजदर कटौतीका कारण दीर्घकालमा तामाको मूल्य अझै बढ्ने र भविष्यमा यसको मूल्य प्रतिटन १२ हजार डलरसम्म पुग्ने बताइएको छ ।
अहिले विश्वबजारमा तामाको मूल्य प्रति पाउण्ड ४.६७ डलर र प्रतिटन १० हजार ३४ सय डलरका कारोबार भईरहेको छ । गत मे महिनामा तामाको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिटन ११ हजार डलर पुगेको थियो । -एजेन्सी