काठमाण्डौ। नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (शुक्रबार) नै नयाँ सरकार गठनको तयारी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी भइरहेको स्रोतले बताएको छ।
बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएको छ। जहाँ प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम हुने एमालेको बुझाई छ।
दाहालको पक्षमा अहिले बहुमत नजुट्ने लगभग निश्चित भइसकेको छ। उनको पक्षमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जना बाहेक अन्य सांसदको समर्थन खुलेको छैन्।
कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले विश्वासको मत नदिने निर्णय नै गरिसकेका छन्।
यद्यपि विश्वासको मत लिने प्रतिनिधिसभाको बैठक कति लम्बिन्छ, त्यसले ओली प्रधानमन्त्री बन्ने समय निर्धारण गर्न सक्छ।
‘विश्वासको मतको कार्यक्रम दिउँसो २ देखि अढाई बजे (२ः३०) सम्म चल्न सक्छ,’ एमालेका एक नेताले भने। त्यसपछि लगत्तै संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी दिने एमालेको बुझाई छ।