काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका १३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार १३ सडकखण्ड पूर्णरुपमा तथा ११९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा छन् ।
विभागका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल –मध्य पहाडी) राजमार्गलगायत ११९ सडकखण्डमा एकतर्फी रुपमा यातायत सेवा सञ्चालन भईरहेको छ । यस्तै डुम्रे–बेँसीसहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ ।
बाढी पहिरोका कारण देशैभर ठूलो मात्रामा जनधनको क्षति भईरहेको छ । बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बस सिमताल भन्ने स्थानमा पहिरोमा परेका छन् । बसमा सवार यात्रुको अवस्था अज्ञात रहेको छ ।