काठमाण्डौ। सरकारले व्यवसायीसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर नयाँ नियुक्त गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।
सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्।
सञ्चालकद्वय पुन र आचार्यले डेडिकेटेड तथा ट्रंक लाइन विवाद सुल्झाउन सरकार र विद्युत नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै मन्त्रीले पदबाट हटाएको बताइएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले यो विवादमा विद्युत काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको तर सो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले फरक मत (नोट अफ डिसेन्ट) लेखेको कुरालाई लिएर हटाइएको मन्त्रालयले जनाएको छ।