काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट विप्रेषण कारोवार गर्न इजाजत प्राप्त ५ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै ५ वटा रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज भएको जानकारी दिएको हो ।
लाइसेन्स स्वतःखारेज हुनेमा राम्रो रेमिट(लाजिम्पाट),ग्लोबल माउन्टेन रेमिट (गौशाला), संसार रेमिट (दरबारमार्ग), ललित मनि ट्रान्सफर(न्यूरोड) र माक्स मनि ट्रान्सफर(अनामनगर) रहेका छन् ।
यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संसोधनसहित) को विनियम १३ को उप ( विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप(विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैले विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा लिखित रूपमा जानकारी दिन राष्ट्र बैंकले सूचित गरेको छ ।
उक्त तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा बैंक जमानतसमेत फुकुवा भई जाने बैंकले उल्लेख गरेको छ ।
स्वतः खारेज भइजाने रेमिट्यान्स कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र यस बैंकले हिसाब मिलान गरिदिने राष्ट्र बैंकद्वारा जारी सूचनामा जनाइएको छ ।