काठमाण्डौ। प्रतिष्ठित उद्योगी, समाजसेवी तथा चर्चित साहित्यकार बसन्तकुमार चौधरीले बाढीपीडित परिवारको पुनर्वासका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
चौधरीले नेतृत्व गरेको बीएलसीअन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउन्डेसनले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराउने भएका हुन्। सम्बन्धित सरकारी तथा स्थानीय निकायसँग समन्वय गरी सहयोग वास्तविक पीडित परिवारसम्म प्रभावकारी रूपमा पुर्याइने चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बाढी प्रभावितका लागि विभिन्न क्षेत्रबाट तत्काल राहत जुटिरहेका बेला चौधरी समूहले भने विपद्पछिको दीर्घकालीन चुनौतीलाई केन्द्रमा राख्दै पुनर्वासलाई प्राथमिकता दिएको हो। बाढीपीडितलाई खाद्यान्न र लत्ताकपडाजस्ता तत्काल राहतसँगै सुरक्षित छाना, स्थिर आधार र जीवन पुनःसुरु गर्ने अवसर आवश्यक रहेको समूहको ठहर छ।
“तत्काल राहतले आजको पीडा कम गर्छ, तर पानी घटेपछि पनि पीडित परिवारका दुःख सकिँदैनन्,” चौधरीले भनेका छन्, “उनीहरूलाई फेरि उभिन एउटा सुरक्षित छाना, स्थिर आधार र नयाँ सुरुवात चाहिन्छ।”
उनले बाढीले घरमात्र नभई परिवारको वर्षौँको मेहनत, सुरक्षा र भविष्यप्रतिको भरोसासमेत बगाउने उल्लेख गरेका छन्। यही वास्तविकतालाई ध्यानमा राखेर तत्काल राहतभन्दा एक कदम अगाडि बढ्दै पुनर्वासमा सहयोग गर्ने निर्णय गरिएको उनको भनाइ छ।
समूहले तीन करोड रुपैयाँबाट कति परिवारको पुनर्वास गर्ने, घर निर्माणको ढाँचा कस्तो हुने तथा लाभग्राही छनोटको मापदण्ड के रहने भन्ने विस्तृत कार्ययोजना भने सार्वजनिक गरेको छैन। सम्बन्धित निकायसँगको समन्वयपछि सहयोगको कार्यान्वयन प्रक्रिया र लाभग्राहीबारे थप विवरण आउने अपेक्षा गरिएको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको छ। हजारौँ नागरिक विस्थापित भएका छन् भने घर, सडक, पुल, जलविद्युत् आयोजना र अन्य सार्वजनिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ। तत्काल उद्धार र राहतसँगै प्रभावित परिवारको स्थायी पुनर्वास अब सरकार तथा सहयोगी निकायका लागि प्रमुख चुनौती बनेको छ।
चौधरीले विपत्तिमा कसैको घर पुनर्निर्माण गर्नु भौतिक संरचना बनाउनुमा मात्र सीमित नहुने बताएका छन्।
“कसैको घर पुनर्निर्माण गर्नु भनेको केवल पर्खाल र छानो बनाउनु होइन,” उनले भनेका छन्, “त्यो परिवारको आशा, आत्मसम्मान र भविष्य पुनर्निर्माण गर्नु पनि हो।”
चौधरीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सामूहिक प्रयासबाट नेपाल फेरि उठ्ने विश्वाससमेत व्यक्त गरेका छन्।
“बाढीले घर डुबायो, तर आशा डुब्न दिनु हुँदैन,” चौधरीले भनेका छन्, “नेपाल फेरि उठ्नेछ, हामी सबै मिलेर उठाउनेछौँ।”


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।