आईतवार, भाद्र २१,२०८३ 06:43:32
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 06:43:32
Bizshala
Global IME Bank Limited

विश्वव्यापी बन्ड बजारमा बिक्री चापः महँगो ऋण दीर्घकालीन बन्ने जोखिम, सेयरबजारमा पनि दबाब

विश्वव्यापी बन्ड बजारमा बिक्री चापः महँगो ऋण दीर्घकालीन बन्ने जोखिम, सेयरबजारमा पनि दबाब
New Office

काठमाण्डौ । विश्वव्यापी बन्ड बजारमा पछिल्लो समय देखिएको तीव्र बिक्री चापले अर्थतन्त्रभर ऋणको लागत बढाउँदै लगेको छ। यसले सरकार, कम्पनी तथा उपभोक्तालाई महँगो ऋणको अवस्था अब केही समयका लागि मात्रै नभई दीर्घकालीन रूपमा कायम रहन सक्ने सम्भावनासँग सामना गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

विश्वका प्रमुख अर्थतन्त्रमा सरकारी बन्डको प्रतिफल (यिल्ड)बहुवर्षीय उच्च विन्दुमा पुगेको छ। जर्मनीको १० वर्षे बन्ड यिल्ड सन् २०११ यताकै उच्च तहमा पुगेको छ भने जापानको १० वर्षे यिल्ड ३ प्रतिशतभन्दा माथि कायम छ। अमेरिकाको १० वर्षे ट्रेजरी यिल्ड सन् २०२३ को नोभेम्बरयताकै उच्च तहमा पुगेको छ। बेलायतको सरकारी बन्ड ९गिल्ट० यिल्ड पनि सन् २००८ पछिकै उच्च विन्दुमा पुगेको छ।

बन्ड बजारमा पछिल्लो बिक्री चापका पछाडि विभिन्न कारण देखिएका छन्। उच्च सरकारी ऋण निष्कासन, तेलको मूल्यमा आएको धक्काले पुनः बढाएको मुद्रास्फीति चिन्ता तथा केन्द्रीय बैंकहरूले लामो समयसम्म कडा मौद्रिक नीति कायम राख्न सक्ने अपेक्षा प्रमुख कारण हुन्।

विश्लेषकहरूका अनुसार यो अवस्था सामान्य बन्ड बजारको अस्थायी उतारचढावभन्दा पर जाने सम्भावना छ। यसको प्रभाव विश्वका अर्थतन्त्र तथा वित्तीय बजारका विभिन्न क्षेत्रमा देखिन सक्छ।

ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ फेलो रोबिन ब्रुक्सले यो अवस्था मध्यम अवधिदेखि विकसित हुँदै आएको प्रवृत्तिको निरन्तरता भएको र आगामी धेरै वर्षसम्म जारी रहन सक्ने बताएका छन्।

सीआईएफसी एसेट म्यानेजमेन्टकी प्रबन्ध निर्देशक नतालिया लोयेभ्स्कीले पनि उच्च ऋण निष्कासन र पुनः बढ्दो मुद्रास्फीति जोखिम एकैपटक देखिएकाले बन्ड यिल्ड अझै बढ्न सक्ने सम्भावना रहेको बताएकी छन्।

बन्ड यिल्ड बढ्दा सबैभन्दा बढी दबाबमा पर्ने पक्षमध्ये सरकार पनि एक हो। विश्वका धेरै मुलुकको सार्वजनिक ऋण पहिले नै उच्च तहमा रहेकाले परिपक्व हुँदै गएको ऋणलाई उच्च ब्याजदरमा पुनः वित्तीय व्यवस्थापन गर्नुपर्दा सरकारको ब्याज खर्च क्रमशः बढ्नेछ।

स्टेट स्ट्रिट इन्भेस्टमेन्ट म्यानेजमेन्टका वरिष्ठ फिक्स्ड इनकम रणनीतिकार मासाहिको लुका अनुसार ठूलो बजेट घाटा, उच्च ऋण भार र बाह्य पुँजीमा निर्भरता भएका मुलुक सबैभन्दा बढी जोखिममा छन्। विकसित अर्थतन्त्रमा फ्रान्स विशेष जोखिममा रहेको उनको भनाइ छ।

उदीयमान अर्थतन्त्रमा भने बजेट तथा चालु खाता दुवै घाटामा रहेका मुलुक उच्च विश्वव्यापी यिल्डबाट थप प्रभावित हुन सक्छन्। ऋण, बजेट घाटा र बाह्य वित्तीय आवश्यकताबीच दबाब एकै ठाउँमा आएपछि वित्तीय बजारले त्यस्ता देशप्रति कडा व्यवहार गर्ने विश्लेषकहरूको भनाइ छ।

सरकारले बन्ड पुनः खरिद गर्ने वा ऋणपत्र निष्कासनको मात्रा तथा परिपक्वता अवधि परिवर्तन गरेर यिल्ड नियन्त्रण गर्ने प्रयास गर्न सक्छन्। तर अत्यधिक ऋण उठाउने आवश्यकता र लगानीकर्ताको मागबीचको आधारभूत असन्तुलन भने यस्ता उपायले समाधान गर्न नसक्ने विश्लेषण गरिएको छ।

जर्मन बैंक ड्युचे बैंकले हालै सार्वजनिक गरेको विश्लेषणमा यिल्ड जति माथि जान्छ, धेरै मुलुकको दीर्घकालीन वित्तीय अवस्था त्यति नै चुनौतीपूर्ण देखिने उल्लेख गरेको छ।

जापान यसको स्पष्ट उदाहरण हो। जापानको सरकारी ऋण कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को २०० प्रतिशतभन्दा बढी छ। त्यसैले ब्याजदर बढ्दा सरकारी वित्तमा प्रत्यक्ष प्रभाव पर्छ। सन् २०२६ को वित्तीय वर्षमा जापानको राष्ट्रिय ऋण सेवा खर्च सरकारको कुल खर्चको २५ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ।

बन्ड यिल्ड बढ्दा कम्पनीहरूलाई ऋण पुनः वित्तीय व्यवस्थापन गर्न वा नयाँ लगानीका लागि पुँजी जुटाउन महँगो पर्नेछ। विशेषगरी धेरै ऋण भएका, कमजोर वित्तीय अवस्था भएका वा परिवर्तनीय ब्याजदरको ऋणमा निर्भर कम्पनी बढी जोखिममा छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

किली टेटन एडभाइजर्सका पोर्टफोलियो म्यानेजर थोमस ब्राउनका अनुसार ठूला कम्पनीको तुलनामा साना कम्पनीसँग परिवर्तनीय ब्याजदरको ऋण बढी हुने भएकाले ब्याजदर बढ्दा उनीहरूको ब्याज खर्च छिटो बढ्न सक्छ।

स्टेट स्ट्रिटका लुका अनुसार अत्यधिक ऋणमा रहेका र सस्तो पुँजीको वातावरणमा अभ्यस्त कम्पनीहरू सबैभन्दा बढी दबाबमा पर्नेछन्। व्यावसायिक रियल इस्टेट, निजी इक्विटीबाट वित्तपोषित कम्पनी, प्रत्यक्ष ऋण पोर्टफोलियो तथा कमजोर वित्तीय आधार भएका सफ्टवेयर कम्पनीलाई उनले उच्च जोखिममा रहेको क्षेत्रका रूपमा औँल्याएका छन्।

कृत्रिम बौद्धिकता ९एआई० क्षेत्रमा भइरहेको ठूलो लगानीले पनि नयाँ चुनौती थपेको छ। प्रविधि कम्पनीहरूले डेटा सेन्टर तथा एआई पूर्वाधार निर्माणका लागि ठूलो परिमाणमा ऋण उठाइरहेका छन्। यसले सरकार तथा अन्य कम्पनीसँग लगानीकर्ताको पुँजीका लागि प्रतिस्पर्धा बढाएको छ।

क्याटालिस्ट फन्ड्सका वरिष्ठ पोर्टफोलियो म्यानेजर ल्यारी होल्जेन्थालरका अनुसार एआई परियोजनाका लागि ठूलो परिमाणमा ऋण जारी भइरहेकाले ऋण जारी गर्ने कम्पनीहरू उच्च ब्याजदरप्रति तुलनात्मक रूपमा कम संवेदनशील देखिन्छन्।

बन्डको आधारभूत यिल्ड बढ्दा वित्तीय रूपमा स्वस्थ कम्पनीको समेत ऋण लागत बढ्न सक्छ। यसले नयाँ कारखाना, डेटा सेन्टर, कम्पनी अधिग्रहण तथा अन्य लगानीलाई आर्थिक रूपमा कम आकर्षक बनाउन सक्छ।

बन्ड यिल्ड बढेपछि यसको प्रभाव धितो ऋण, कार कर्जा तथा अन्य घरेलु ऋणमा पनि देखिन्छ। तर यसको असर सबै उपभोक्तामा समान रूपमा पर्ने छैन।

होल्जेन्थालरका अनुसार दीर्घकालीन ब्याजदरले कम्पनीको मात्रै नभई घरधनी तथा आवास बजारको पुँजी लागत निर्धारणमा समेत महत्वपूर्ण भूमिका खेल्छ।

कम आय भएका उपभोक्ताले आफ्नो आम्दानीको ठूलो हिस्सा ऋण तिर्न तथा अत्यावश्यक वस्तु खरिदमा खर्च गर्ने भएकाले उनीहरूमा यसको असर पहिले देखिन सक्ने विश्लेषकहरूको भनाइ छ। तुलनात्मक रूपमा उच्च आय भएका परिवारले भने बचतमा बढी प्रतिफल प्राप्त गर्न सक्ने र बढेको मासिक किस्ता धान्न सक्ने क्षमता राख्छन्।

यसले उपभोक्ता क्षेत्रमा ‘के–शेप्ड’ प्रभाव देखाउन सक्ने अनुमान गरिएको छ। अर्थात् कम आय भएका परिवारको आम्दानीको ठूलो हिस्सा कार कर्जा, घरको धितो ऋण वा विद्यार्थी ऋण तिर्न खर्च हुने भएकाले उनीहरू उच्च ब्याजदरबाट धनी परिवारको तुलनामा बढी प्रभावित हुनेछन्।

यसको पूर्ण प्रभाव भने क्रमशः देखिन सक्छ। निश्चित ब्याजदरमा लिइएका ऋणको अवधि सकिएर पुनः वित्तीय व्यवस्थापन गर्नुपर्ने समयमा घरपरिवारले उच्च ब्याजदरको सामना गर्नुपर्नेछ। कम आय भएका उपभोक्ताको खर्च घटेमा यसको प्रभाव समग्र अर्थतन्त्रमा समेत फैलिन सक्छ।

बढ्दो बन्ड यिल्डले सेयर बजारमाथि पनि दबाब सिर्जना गर्न सक्छ। बलियो कम्पनीको आम्दानी र एआईबाट उत्पादकत्व बढ्ने आशावादका कारण सेयर बजारले हालसम्म उच्च यिल्डको दबाबलाई तुलनात्मक रूपमा थेगेको छ।

तर सरकारी बन्डको प्रतिफल बढ्दा सुरक्षित मानिने सरकारी ऋणपत्र सेयरको तुलनामा लगानीकर्ताका लागि आकर्षक बन्न सक्छ। साथै, उच्च ब्याजदरले कम्पनीको भविष्यको आम्दानीको वर्तमान मूल्य घटाउने भएकाले सेयर मूल्यमा समेत दबाब पर्न सक्छ।

लोयेभ्स्कीका अनुसार सेयर बजारले हालसम्म बढ्दो यिल्डलाई बेवास्ता गर्न सफल भए पनि कुनै बिन्दुमा यसको प्रभाव सेयर बजारमा देखिन थाल्नेछ।

यद्यपि बढ्दो यिल्डको एउटा सकारात्मक पक्ष पनि छ, नयाँ बन्ड खरिद गर्ने लगानीकर्ता। अहिले जारी हुने बन्डमा उच्च कुपन आम्दानी प्राप्त हुने भएकाले भविष्यमा बन्डको मूल्य घटे पनि लगानीकर्तालाई केही सुरक्षा प्राप्त हुन्छ।

ड्युचे बैंकको अनुमानअनुसार आगामी एक वर्षमा अमेरिकी १० वर्षे ट्रेजरी यिल्ड करिब ५।५ प्रतिशतसम्म पुग्न सक्छ। त्यस अवस्थामा बन्डको मूल्यमा हुने गिरावटले कुपनबाट प्राप्त आम्दानीलाई उछिन्न सक्नेछ। दुई वर्षको अवधिमा भने यिल्ड करिब ६।४ प्रतिशत पुगेपछि मात्रै लगानीकर्ताको कुल प्रतिफल नकारात्मक हुने अनुमान गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.