काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ । आज कारोबारको पहिलो प्रहरमा बजार २८ अंकले बढेको थियो । तर दिनभरको कारोबारमा भने यो बढोत्तरी टिक्न सकेन । फलस्वरुप आज नेप्से अन्त्यमा झिनो अंकले घटेर बन्द भयो । आज बजारका साथसाथै कारोबार पनि करिब एक अर्बले घटेको छ ।
पछिल्लोपटक सेयर बजारमा हरेक गुड न्यूजलाई लगानीकर्ताहरुले बेच्ने अवसरको रुपमा लिनुनै बजार घट्नुको मुख्य कारण बनेको छ । सेयर बजारमा एउटा सुत्र छ जसलाई ‘बाई अन रुमर्स सेल अन फ्याक्ट’ अर्थात हल्लामा किन र गुड न्यूज आउँदा बेच भन्ने हो । पछिल्लोपटक सेयर बजारमा एकपछि अर्को गुड न्यूज आएका छन् । अघिल्ला गभर्नरले कसेका केहि नीतिहरु नेपाल राष्ट्र बैंकले एक पछि अर्को गर्दै खोल्दै गएको छ । उदाहरणका लागि असार ९ गते आएको चालू पूँजी कर्जामा लचक हुनु भनेको नेपाल राष्ट्र बैंक पूँजीबजार र अन्य ब्यापारीप्रति निकै सकारात्मक छ भन्ने प्रष्ट संकेत हो । नेपाल राष्ट्र बैंकले परिपत्रमार्फत नै केही कसिला नीति फुकाउँदै गरेको छ । तर लगानीकर्ताहरुले भने ‘बाई अन रुमर्स, सेल अन फ्याक्ट’ रणनीति नै लिएको देखिन्छ ।
अहिले सेयर बजारमा लगानीकर्ताले यहि रणनीति लिएको केही ब्रोकरहरुले पनि दाबी गर्छन । सेयर बजारमा हाल ७२ घण्टे अर्थात खातामा सेयर आएपछि बेच्ने प्रचलन पनि रहेको छ । ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले विगत एक बर्षमा केही कम्पनीहरु मात्रै चलेको बताए । उनले एकपटक एनआरएन र सीएचडीसी जस्ता कम्पनीहरु चलेको र त्यसपछि नेपाल रि – इन्स्योरेन्स र हिमालय रि –इन्स्योरेन्स चलेको बताए । तर ती कम्पनीहरुबाट खेलाडी निस्कन नपाएको उनले बताए ।
त्यसैगरि हाइड्रो कम्पनीहरुमा पनि सीमित कम्पनीहरुमात्रै चले । त्यहाँबाट पनि खेलाडी निस्कन सेकेका छैनन् । फाइनाँन्स र विकास बैंक समूहमा चलेका कम्पनीहरुको अवस्था पनि त्यहि नै छ । खेलाडीको पैसा एक दुई स्टकमा फस्यो । जहाँबाट निस्कन नयाँ पैसा लिएर नयाँ लगानीकर्ता बजारमा आएका छैनन् । भएको पुराना लगानीकर्ता निकै सर्ट टर्म अर्थात ७२ घण्टामा सेयर बेचेर निस्कन्छन् । यहि कारण पछिल्लोपटक जति राम्रा समाचार आए पनि बजार बढ्न सकेको छैन । लगानीकर्ताहरुले गुड न्यूजलाई नै सेयर बेच्ने अवसरको रुपमा लिएका छन् ।