काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनको अनुमति दिन थालेपनि उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरु पाइपलाइनमै सीमित छन् ।
बोर्डले कम्पनीहरुको नेटवर्थ हेरेर धमाधम आइपीओ निष्कासनको अनुमति दिन थालेको छ । प्रायजसो हाइड्रो सेक्टरका कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति पाएका छन् ।
त्यसो त आइपीओ जारी गर्न अनुमति माग्ने कम्पनीहरुमा धेरै हाइड्रो सेक्टरबाटै छन् । बोर्डले ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई पालैपालो आइपीओ निष्कासन गर्न अनुमति पनि दिन थालेको छ ।
यता उत्पादन तथा प्रशोधन समूहबाट १८ वटा कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् । जसमा केही कम्पनीले प्रिमियम मूल्यमा आइपीओको अनुमति मागेका छन् । अंकित मूल्यमा प्रिमियम थप गरेर आइपीओ जारी गर्न बोर्डसँग स्वीकृति मागेपनि ती कम्पनीहरु पाइपलाइनमै सीमित छन् ।
प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीहरुमा जगदम्बा स्टिल्स कम्पनी, सौर्य सिमेन्ट इन्डस्ट्रि, मारुती सिमेन्ट, रिद्धीसिद्धी सिमेन्ट र अम्बे स्टिल रहेका छन् । उक्त कम्पनीहरुले १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँसम्म प्रिमियम थप गरेर आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।
उत्पादन तथा प्रशोधन समूहमै रहेको एभरेष्ट कलर लिमिटेडले भने ५० रुपैयाँमै आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । तर यो कम्पनी विगत ८ महिनादेखि धितोपत्र बोर्डको पाइपलाइनमै रहेको छ ।
यो समूहमा कम्पनीहरुले २०८० असोज महिनादेखि आइपीओ निष्कासनको अनुमति मागेपनि स्वीकृति पाउन सकेका छैनन् । धितोपत्र बोर्डका अनुसार प्रिमियम मूल्यमा आइपीओ निष्कासनको लागि निवेदन दिएका कम्पनीहरुले तत्कालै अनुमति पाउने छैनन् ।
यसअघि धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेश कुमार हमालले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति दिएपछि धितोपत्र दर्ता तथा निष्कासन लगायत नियमावलीहरु अपारदर्शी ढंगले संशोधन गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो ।
यस्तै झमेलाकाबीच नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले तत्कालै प्रिमियम मूल्यको आइपीओ निष्कासनको अनुमति नदिने संकेत देखाएका छन् ।
साथै बोर्डले यो समूहका अधिकांश कम्पनीलाई नेटवर्थ अपडेट गराउन प्रतिक्रिया समेत दिएको छ । ९० रुपैयाँभन्दा बढी नेटवर्थ बनाएर मात्रै पुनः आइपीओ निष्कासनको लागि निवेदन पेश गर्न बोर्डले भनेको छ । तर यो समूहका कम्पनीहरुको नेटवर्थ अपग्रेड नभएका कारण पछिल्लो समय कुनै पनि कम्पनीले स्वीकृति पाउन सकेका छैनन् ।
बोर्डले उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुमध्ये श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, सागर डिस्टिलरी, सर्वोत्तम पेन्ट्स, शुभश्री अग्नि सिमेन्ट उद्योगलाई वित्तीय रिर्पोट अपडेटको अनुपालना नगरेको भन्दै प्रतिक्रिया पठाएको छ ।
त्यस्तै, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, लक्ष्मी टेक्नोप्लान्ट्स लिमिटेड, श्री डिस्टिलरी लिमिटेड, भूगर्व सिमेन्ट्स र रिद्धीसिद्धी सिमेन्ट्स कम्पनीलाई ९० रुपैयाँ भन्दा बढी नेटवर्थ पुर्याई पुनः आवेदन दिन निर्देशन दिएको छ ।
यसरी यो समूहबाट कुल १८ वटा कम्पनी धितोपत्र बोर्डको पाइपलाइनमै छन् । उक्त कम्पनीहरुले २६ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ बराबरको कुल १३ करोड ३३ लाख ८२ हजार १३२ कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेका छन् ।
