काठमाण्डौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत १ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

