काठमाण्डौ । आम्दानी बढेसँगै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
कम्पनीको बिक्री आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६९ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड ५५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३५ लाख २० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो ।
त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च १३ करोड ८४ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ५० करोड र वित्त खर्च ४९ करोड १८ लाख रुपैयाँबराबर रहेको छ ।
अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च ६८ करोड ८७ लाख रहेको थियो ।
कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ४८ करोडबाट घटेर ७९ करोड ३२ लाख रुपैयाँमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.१६ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ १६८.६९९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३६.९५५ रुपैयाँ र तरलता अनुपात ०.८३२ प्रतिशत कायम भएको छ ।

