काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आम्दानीमा बढोत्तरी आएसँगै नाफा बढ्न पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले १ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४१.४९ प्रतिशतले बढी हो ।
यो अवधिमा कम्पनीले १५ करोड १५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १३ करोड ६८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको खर्च पनि बढेको छ । अघिल्लो आवमा ६ करोड २३ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म ७ करोड ९९ लाख खर्च गरेको छ ।
कम्पनीको वित्त खर्च पनि ३ करोड २१ लाख रुपैयाँबाट १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । ८१ करोड ५६ लाख चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ७५ लाख र कुल चालु दायित्व २७ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०६.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६८.१० रुपैयाँ र तरलता अनुपात ०.५० प्रतिशत कायम भएको छ ।

