-रविन ठकुरी/बिजशाला
काठमाण्डौ । विश्व फुटबलको महाकुम्भ सुरु हुन केही दिन मात्र बाँकी रहँदा नेपालमा फुटबल जर्सीको व्यापार फेरि तातेको छ। काठमाडौंका सपिङ मलदेखि सडकछेउका पसलसम्म अर्जेन्टिना, पोर्चुगल, ब्राजिल, स्पेन र फ्रान्सका जर्सीले बजार रंगिएको छ। युवापुस्तामा विश्वकपको उत्साह बढ्दै जाँदा जर्सीको कारोबारले गति लिएको छ।
तर यो उत्साहको अर्को पाटो पनि छ। नेपाली समर्थकहरूले किनेका अधिकांश जर्सी चीन र थाइल्याण्डमा उत्पादन भएका हुन्। अर्थात् विश्वकपको ज्वरोले नेपालमा व्यापार त बढाइरहेको छ, तर त्यसबाट सिर्जित ठूलो हिस्सा विदेशी उद्योग र अर्थतन्त्रको पोल्टामा परिरहेको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा खेलौना, खेलकुद सामग्री तथा सम्बन्धित वस्तुहरूको आयात ३ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ। यही समूहभित्र विश्वकप लक्षित जर्सी, फुटबल बुट, बल तथा अन्य खेल सामग्री समावेश छन्। यिनै वस्तुको आयातबाट राज्यले १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
बजारमा अहिले सबैभन्दा बढी माग अर्जेन्टिना र पोर्चुगलका जर्सीको छ। लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोप्रतिको नेपाली समर्थकको मोह व्यापारमा स्पष्ट देखिन्छ। त्यसपछि ब्राजिल, स्पेन, फ्रान्स र जर्मनीका जर्सीको बिक्री उच्च रहेको व्यवसायीहरू बताउँछन्।
न्युरोडका व्यापारी श्याम थापाका अनुसार विश्वकपले व्यापारलाई केही चलायमान बनाएको भए पनि अघिल्ला संस्करणजस्तो उछाल भने आएको छैन।
‘पहिले दिनमै ४०-४५ वटा जर्सी बिक्री हुन्थे, अहिले २०-२५ वटामा सीमित छ। डलर महँगो भएका कारण आयात लागत बढेको छ र त्यसको असर बिक्रीमा परेको छ,’ उनले भने।
बजारमा अहिले एक जर्सीको मूल्य ९५० रुपैयाँदेखि १ हजार ७५० रुपैयाँसम्म रहेको छ। शनिबार र आइतबार बिक्री अझै बढी हुने व्यवसायीहरूको अनुभव छ।
विश्वकपको व्यापार, नेपालबाट पुँजीको बहिर्गमन
नेपालमा बिक्री भइरहेका अधिकांश जर्सी चीन र थाइल्याण्डबाट आयात गरिएका हुन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्रै चीनबाट ३ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ। थाइल्याण्डबाट पनि करिब १५ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ।
विश्वकप लक्षित जर्सी तथा खेल सामग्री पनि यही आयातको हिस्सा हुन्।
अर्थशास्त्रीहरूका अनुसार विश्वकप, ओलम्पिक वा अन्य ठूला खेल प्रतियोगिताका बेला नेपालमा उपभोग बढे पनि उत्पादन नहुँदा त्यसको प्रत्यक्ष लाभ विदेशी उद्योगले लिने गरेका छन्। नेपालले जर्सी उत्पादन नगर्ने भएकाले समर्थकहरूले खर्च गरेको पैसा अन्ततः विदेशी मुद्रा भएर बाहिरिने गर्छ।
अवसर गुमाउँदै नेपाल
विश्वकपले नेपालमा फुटबल संस्कृति विस्तार गरिरहेको छ। खेल सामग्रीको माग बढाइरहेको छ। तर नेपालले यसलाई उद्योग र रोजगारी सिर्जनाको अवसरमा रूपान्तरण गर्न सकेको छैन।
यदि स्थानीय स्तरमै जर्सी तथा खेल सामग्री उत्पादनको उद्योग विकास गर्न सकिने हो भने विश्वकपजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले विदेशी मुद्रा बाहिर पठाउने होइन, नेपालभित्रै आर्थिक गतिविधि बढाउने माध्यम बन्न सक्थ्यो।
अहिले भने अवस्था उल्टो छ-मेस्सी र रोनाल्डोको नाममा नेपाली युवाले किन्ने जर्सीले काठमाडौंका पसलमा केही आम्दानी गराइरहेको छ, तर त्यसको ठूलो हिस्सा चीन र थाइल्याण्डको अर्थतन्त्रमा पुगिरहेको छ।
विश्वकपको उत्साह नेपालमा छ, तर त्यसबाट सिर्जित आर्थिक लाभको ठूलो हिस्सा विदेशतर्फ बगिरहेको छ।

