काठमाण्डौ । बजेट सार्वजनिक भएको तीन साताभन्दा बढी भइसक्यो। सामान्यतया बजेटपछि बजारमा नयाँ आशा, नयाँ कथा र नयाँ लगानी चक्र सुरु हुने अपेक्षा गरिन्छ। तर यसपटक सेयरबजारमा अपेक्षित उत्साह देखिएको छैन।
बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार हामीले राजधानीका डिल्लीबजार, न्यूप्लाजा, घट्टेकुलो र अनामनगरस्थित चार ब्रोकर हाउसको स्थलगत अवलोकन गर्यौं। चारवटै स्थानमा एउटा समान दृश्य भेटियो-स्क्रिनभरि राताम्ये अंक र लगानीकर्ताको अनुहारमा बढ्दो निराशा।
गत साताको तुलनामा ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति केही बढेको देखिए पनि मनोबल भने फर्किएको छैन। बजारप्रति विश्वासभन्दा बढी अन्योलता हाबी देखिन्छ। अधिकांश लगानीकर्ताको साझा प्रश्न थियो-‘अब बजारलाई माथि लैजाने नयाँ ट्रिगर के हो ?’
डिल्लीबजार : तेलको मूल्य घट्दा आशाको झिनो किरण
डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिजमा बजार खुलेको केही समयमै हरियो संकेत रातोमा बदलिएको थियो। लगानीकर्ताहरू आ-आफ्ना स्क्रिप्टको चर्चा गरिरहेका थिए, तर उत्साहभन्दा गुनासो बढी सुनिन्थ्यो।
त्यहीबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको समाचारले केहीबेर चर्चा पायो। केही लगानीकर्ताले तेल सस्तिए नेपालजस्तो आयातमुखी अर्थतन्त्रलाई राहत मिल्ने र त्यसको सकारात्मक प्रभाव सेयरबजारमा पनि देखिन सक्ने तर्क गरे।
बजारमा सकारात्मक समाचारको अभावबीच तेलको मूल्य घट्नु लगानीकर्ताका लागि सम्भावित आशाको विषय बनेको देखिन्थ्यो।
न्यूप्लाजा : बजारभन्दा अर्थतन्त्रको चिन्ता
दिव्या सेक्युरिटिज, न्यूप्लाजामा पुग्दा बजारको चर्चा कम र अर्थतन्त्र तथा राजनीतिक प्रणालीबारे बहस बढी सुनिन्थ्यो।
लगानीकर्ताहरूको बुझाइमा अहिलेको समस्या केवल नेप्सेको होइन, समग्र अर्थतन्त्रकै हो। एक लगानीकर्ताले नेपालको आर्थिक गतिविधि सीमित क्षेत्रमै केन्द्रित भएको टिप्पणी गर्दै उत्पादन, प्रविधि, व्यापार र लगानीबीच सन्तुलन नहुँदा दीर्घकालीन विकास प्रभावित भएको बताए।
अर्कातर्फ, अमेरिका-इरान तनाव र अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितताको असर नेपालसम्म आइपुग्ने चिन्ता पनि सुनियो। यही कारण धेरै लगानीकर्ता तत्काल आक्रामक खरिदभन्दा ‘फन्डामेन्टल बलिया कम्पनी होल्ड गर्ने’ रणनीतितर्फ झुकेको देखिए।
घट्टेकुलो : अवसर खोज्दै, जोखिमसँग डराउँदै
भिजन सेक्युरिटिज, घट्टेकुलोमा लगानीकर्ताको उपस्थिति तुलनात्मक रूपमा बाक्लो थियो। तर त्यहाँ पनि लगानीकर्ताहरू तत्काल बजार बढ्नेमा विश्वस्त देखिएनन्।
चर्चाको केन्द्रमा नेपाल रि इन्स्योरेन्स थियो। केही लगानीकर्ताले घटेको मूल्यलाई अवसरका रूपमा हेरिरहेका थिए भने केहीले कमजोर वित्तीय अवस्थालाई आधार बनाएर अझै पर्खिनुपर्ने धारणा राखिरहेका थिए।
यसले अहिलेको बजार मनोविज्ञान स्पष्ट देखाउँछ-लगानीकर्ता अवसर गुमाउन पनि चाहँदैनन् र जोखिम लिन पनि तयार छैनन्।
अनामनगर : सरकारप्रति बढ्दो असन्तुष्टि
आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजमा भने सरकार र नीतिनिर्माताप्रति असन्तुष्टि बढी सुनियो।
केही लगानीकर्ताले बजारको कमजोर प्रदर्शनलाई सरकारी नीतिसँग जोडेर हेरेका थिए। उनीहरूको गुनासो थियो, लगानी प्रवर्द्धनभन्दा बढी नियमन र छानबिनमा केन्द्रित हुँदा निजी क्षेत्र तथा पूँजीबजारमा नकारात्मक सन्देश गएको छ।
यद्यपि यस्ता धारणा सबै लगानीकर्ताको साझा निष्कर्ष भने होइनन्। तर बजारप्रति घट्दो विश्वास र बढ्दो असन्तुष्टिको संकेत भने अवश्य दिन्छन्।
बजारमा पैसा भन्दा विश्वासको अभाव
चार ब्रोकर हाउसको अवलोकनबाट एउटा कुरा स्पष्ट देखियो:अहिले बजारमा तरलताको समस्या जति छैन, विश्वासको समस्या त्यति ठूलो छ।
लगानीकर्ताहरू बजारबाट बाहिरिएका छैनन्। उनीहरू ब्रोकर हाउसमा आइरहेका छन्, स्क्रिन हेरिरहेका छन्, कम्पनी विश्लेषण गरिरहेका छन्। तर खरिद निर्णयमा पुग्न सकिरहेका छैनन्।
बजारलाई अहिले नयाँ पूँजीभन्दा बढी नयाँ विश्वास चाहिएको छ। जबसम्म लगानीकर्ताले स्पष्ट नीति, स्थिर वातावरण र बलियो ट्रिगर देख्दैनन्, तबसम्म ब्रोकर हाउसमा भीड बढे पनि कारोबारमा उत्साह फर्किने सम्भावना कमजोर देखिन्छ।
अहिलेलाई पूँजीबजार प्रतीक्षाको मनोविज्ञानमा छ-सबैजना हेर्दै छन्, तर निर्णायक कदम चाल्न कोही तयार छैन।

