काठमाण्डौ । निजी क्षेत्रले नेपालमा पहिलो पटक उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ ।
सात वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो । सातवटा निजी जलविद्युत् प्रवर्द्धक कम्पनीले संयुक्त पहलमा निर्माण कार्यलाई तीव्रता दिँदा डेढ वर्षमै सम्पन्न भएको हो ।
यो उपलब्धिले भविष्यमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र सञ्चालनमा समेत सहभागी गराउने आधार तयार गरेको इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले बताएकाछन् ।
लामाका अनुसार प्रसारण पूर्वाधारको अभावका कारण उत्पादन भएको विद्युत् उपयोग हुन नसक्ने समस्या समाधान गर्न निजी क्षेत्र प्रभावकारी साझेदार बन्न सक्ने धारणा छ ।
अब प्रसारण लाइन राष्ट्रिय ग्रिडमा जोड्ने अन्तिम तयारी भइरहेको वद्युत प्राधिकरणले जनाएको छ ।
परीक्षण सफल भएपछि नियमित सञ्चालनमा आउने लाइनमार्फत मर्स्याङ्दी, दोर्दी र त्रिशूली नदी प्रणालीका निजी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह हुने विश्वास लिईएको छ ।

