काठमाण्डौ । नेपाल सोलार फार्म लिमिटेडले आईपीको निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको बाफलमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे आयोजना हुनेछ । उक्त सभामा सर्वसाधारणलाई कम्पनीको साधारण सेयर जारी गर्ने र सो सँग सम्बन्धित सम्पूर्ण कार्य गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको आईपीओ निष्कासन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।