काठमाण्डौ । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतको मुद्दा तत्कालका लागि मुल्तबीमा राख्न गरिएको माग अस्वीकार गरेको छ।
न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सुनुवाइ गर्दै मुद्दा मुल्तबीमा राख्ने निवेदन अस्वीकार गरेको हो।
डा. महतकी पत्नी रोशनी महतले उनका पति ‘फ्रन्ट टेम्पोरल डिमेन्सिया’ रोगबाट गम्भीर रूपमा प्रभावित भई मानसिक तथा शारीरिक रूपमा अशक्त भएको र स्मरण शक्ति कमजोर बनेको भन्दै मुद्दा केही समयका लागि रोक्न माग गर्दै अदालतमा निवेदन दिएकी थिइन्।
अदालतमा अन्तिम निर्णय हुन बाँकी रहेको मुद्दालाई केही समयका लागि स्थगित गरी राख्ने प्रक्रियालाई मुल्तबी भनिन्छ। यद्यपि, आवश्यक अवस्था आएमा मुल्तबीमा राखिएको मुद्दा पुनः सक्रिय गर्न सकिने कानुनी व्यवस्था रहेको छ।
महत परिवारले स्वास्थ्य अवस्थाका कारण उनी अदालतमा उपस्थित भएर बयान दिनसमेत असमर्थ रहेको दाबी गरेको थियो। यसअघि अदालतले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मेडिकल परीक्षण प्रतिवेदन पेस गर्न आदेश दिएको थियो।
विशेष अदालतले वीर अस्पतालको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराई प्रतिवेदन बुझाउन आदेश दिएको थियो। अदालतले हालको अवस्थामा मुद्दा मुल्तबीमा राख्न आवश्यक नभएको भन्दै कानुनअनुसार प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
अदालतले आदेशमा भनेको छ, ‘प्रतिवादी रामशरण महत अदालतमा उपस्थित भएको अवस्थामा निजको स्वास्थ्य अवस्थालाई समेत दृष्टिगत गरी इजलासबाट कानुनबमोजिम उपयुक्त आदेश हुन सक्ने हुँदा हाल निवेदन मागबमोजिम मुल्तबी राख्न मिलेन।’
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले डा. महतविरुद्ध पोखरा विमानस्थल निर्माण परियोजनाको लागत परिमार्जन गरी २१ करोड ५९ लाख अमेरिकी डलर बराबरको परियोजना कार्यान्वयन गर्ने स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको र त्यस क्रममा बदनियतपूर्ण निर्णय भएको आरोप लगाएको छ।

