सोमबार, श्रावण ११,२०८३ 01:37:12
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 01:37:12
Bizshala
Global IME Bank Limited

सुनसरी तनाव केन्द्रसम्म पुग्यो, साँझ केन्द्रीय सुरक्षा समितिको बैठक

गोलीकाण्ड छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति, सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

सुनसरी तनाव केन्द्रसम्म पुग्यो, साँझ केन्द्रीय सुरक्षा समितिको बैठक
New Office

 

 

 काठमाण्डौ ।  सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा गोली चल्दा एक युवकको मृत्यु भएपछि उत्पन्न सुरक्षा चुनौतीबारे छलफल गर्न सरकारले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ।

गृह मन्त्रालयमा सोमबार साँझ ५ बजे बस्ने बैठकले सुनसरी घटनासँगै देशभरको समग्र शान्ति–सुरक्षा अवस्थाको समीक्षा गर्नेछ। बैठकमा सम्भावित सुरक्षा चुनौती, संवेदनशील क्षेत्रमा अपनाउनुपर्ने रणनीति र थप हिंसा फैलिन नदिन चाल्नुपर्ने कदमबारे छलफल हुने बताइएको छ।

केन्द्रीय सुरक्षा समितिमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा नेपाली सेनाका प्रतिनिधि सहभागी हुने व्यवस्था छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी घाइते भएका छन्।

घटनापछि स्थानीय प्रशासनले देवानगञ्जसहित जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। यद्यपि कर्फ्यु आदेश उल्लङ्घन गर्दै केही स्थानमा विरोध प्रदर्शन भएपछि सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ।

स्थिति नियन्त्रणबाहिर जान सक्ने जोखिम बढेपछि गृहमन्त्री सुधन गुरुङले सोमबार बिहानै गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरेका थिए। छलफलपछि घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

गृह मन्त्रालयका अनुसार समितिलाई घटनाको पृष्ठभूमि, दुई समूहबीच विवाद चर्किनुको कारण, सुरक्षा निकायको परिचालन, गोली चलाउनुपर्ने अवस्था तथा सम्भावित कमजोरीबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

समितिको प्रतिवेदनपछि गोली चलाउने निर्णय परिस्थितिजन्य थियो वा सुरक्षा व्यवस्थापनमा कमजोरी भएको थियो भन्नेबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ। घटनामा सुरक्षाकर्मीको लापरबाही वा बल प्रयोगमा कमजोरी देखिए सम्बन्धित अधिकारीमाथि कारबाहीका लागि सिफारिस हुन सक्नेछ।

सुनसरीका विभिन्न स्थानमा अझै तनाव कायम रहेकाले प्रशासनले कर्फ्यु आदेशको पालना गर्न र अफवाह तथा उत्तेजक सामग्रीको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.