काठमाण्डौ । प्रभु बैंकबाट प्रवाह गरिएको विवादास्पद कर्जा प्रकरणमा अनुसन्धानलाई तीव्र बनाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ।
पन्तलाई बुधबार काठमाण्डौको तीनकुनेबाट बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध अनुसन्धान अघि बढाउन म्याद थप गर्ने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले कर्जा रकमको दुरुपयोग भएको देखिएपछि पन्तलाई नियन्त्रणमा लिइएको हो।
यसअघि यही प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष तथा रुपन्देहीका ५८ वर्षीय शशिधर शर्मालाई पनि सिआइबीले असार ३० गते पक्राउ गरेको थियो। शर्माले प्रभु बैंकबाट करिब ४८ करोड रुपैयाँ कर्जा लिएका थिए।
नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणबाट तयार प्रतिवेदनमा रिसोर्ट निर्माण र जग्गा खरिदका लागि स्वीकृत कर्जा अन्य ऋणी कम्पनीहरूको बक्यौता चुक्ता गर्न प्रयोग गरिएको उल्लेख छ।
प्रतिवेदनमा कर्जाको उद्देश्यविपरीत रकम परिचालन गरिएको तथा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामाका आधारमा कर्जा प्रवाह गरिएको विषयसमेत औँल्याइएको छ।
उक्त कर्जा स्वीकृति र परिचालन प्रक्रियामा बैंकका जिम्मेवार अधिकारीहरूको भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ। सोही सिलसिलामा पन्तलाई नियन्त्रणमा लिएर बयान तथा कागजात परीक्षणको प्रक्रिया अघि बढाइएको हो।

