काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित छ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। साथै, पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

