काठमाण्डौ । “Managing Risk, Building Confidence” मूल नारालाई आत्मसात् गर्दै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिको उद्देश्य सहित पोखरास्थित ल्याण्डमार्क होटलमा साउन १५ र १६ गते दुईदिने क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विष्णु कुमार घिमिरे प्रमुख अतिथि तथा सञ्चालक रमेश कुमार र संस्थापक सेयरधनी दिनेश अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको सञ्चालन नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले गरेका थिए । कार्यक्रममा संस्थाका १०२ वटै शाखाका शाखा प्रमुख, अनुगमन अधिकृत, विभागीय प्रमुख तथा व्यवस्थापन तहका पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्णु कुमार घिमिरेले जोखिम व्यवस्थापन, सुशासन र प्रभावकारी नेतृत्व नै संस्थागत सफलताका आधारस्तम्भ भएको उल्लेख गर्दै बदलिँदो वित्तीय परिवेशलाई आत्मसात् गर्दै रणनीतिक सोच, सामूहिक प्रयास र उत्कृष्ट कार्यसम्पादनका साथ संस्थालाई नयाँ उचाइमा पुर्याउनु पर्नेमा जोड दिए । विशेष अतिथि दिनेश अधिकारीले यस्ता कार्यक्रमले कर्मचारीको ज्ञान, सीप र कार्यदक्षता अभिवृद्धि गर्दै संस्थागत विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सिकाइलाई व्यवहारमा उतारी सदस्यमैत्री, पारदर्शी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिए ।
सभाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले संस्थाको दीर्घकालीन लक्ष्य र भिजन प्रस्तुत गर्दै जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैली मार्फत संस्थालाई अझ सशक्त बनाउन कर्मचारीलाई प्रेरित गरे । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतले संस्थाको समग्र कार्यसम्पादन समीक्षा गर्दै आगामी रणनीति र कार्ययोजनाबारे जानकारी गराए ।
कार्यक्रममा शाखाहरूको समग्र कार्यसम्पादनको समीक्षा गर्दै विगतका उपलब्धि, देखिएका चुनौती, सुधार गर्नुपर्ने क्षेत्र तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो ।
सो अवसरमा विभागीय प्रमुखहरूले जोखिम व्यवस्थापन, कर्जा तथा असुली व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, प्रभावकारी सेवा प्रवाह, नेतृत्व विकास तथा शाखा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
सहभागीहरूबीच भएको समूहगत छलफलबाट व्यवहारिक समस्या समाधान, सुधारका उपाय तथा भावी रणनीतिबारे साझा निष्कर्ष निकालिएको थियो । ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदान–प्रदानमार्फत शाखा तथा विभागबीचको समन्वय र सहकार्य थप सुदृढ हुँदै संस्थाको लक्ष्य प्राप्तिका लागि साझा प्रतिबद्धता र सकारात्मक ऊर्जा अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी बनेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।