काठमाण्डौ । एक समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। तर अहिले स्वदेशी उत्पादन निरन्तर घट्दै गएपछि नेपालका जुट उद्योगहरू कच्चा पदार्थका लागि भारत र बङ्गलादेशमा निर्भर हुन थालेका छन्।
पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै चार अर्ब ९१ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ३४ करोड १२ लाख ६१ हजार रुपैयाँ बराबरको कच्चा जुट आयात भएको थियो। यसरी एक वर्षमै कच्चा जुटको आयात ५७ करोड ५४ लाख रुपैयाँ अर्थात् १३.२५ प्रतिशतले वृद्धि भएको देखिएको छ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवराम न्यौपानेका अनुसार मूल्यका आधारमा काँकरभिट्टा नाकाबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो स्थानमा रहेको छ। पछिल्ला वर्षहरूमा यस नाकाबाट कच्चा जुटको आयात निरन्तर बढ्दै गएको भन्सारको तथ्याङ्कले देखाएको छ।
सरकारी अभिलेखअनुसार झापा, मोरङ र सुनसरीमा २०४३÷४४ सालदेखि व्यावसायिक रूपमा जुटखेती विस्तार भएको थियो। त्यतिबेला यहाँ उत्पादन भएको जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही भारत र बङ्गलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
कृषि क्षेत्रका अधिकारीहरूका अनुसार उत्पादन लागत बढ्नु र किसानले उचित मूल्य नपाउनु जुटखेती घट्नुका प्रमुख कारण हुन्। लागत बढ्दै जाँदा आम्दानी अपेक्षाअनुसार नहुने भएकाले किसानहरू जुटखेती छाडेर धानलगायत अन्य बालीतर्फ आकर्षित हुन थालेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।