काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज चाँडै खुल्ने दाबी गर्दै त्यसो नभए इरानले ‘कडा परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्। यससँगै अमेरिका–इरान वार्तामा प्रगति भएको संकेत आएपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ।
क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले इरान सम्झौता गर्न इच्छुक रहेको दाबी गरे। उनले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्।
रिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले पनि हर्मुज जलमार्गमार्फत व्यावसायिक जहाजको आवागमन पुनः सुरु गर्ने विषयमा छलफल अघि बढेको बताएका छन्। बेसेन्टले केही दिनभित्रै सम्झौता हुन सक्ने सम्भावना रहेको बताएका छन्।
सम्भावित कूटनीतिक समाधानको आशासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ। ब्रेन्ट क्रुडको मूल्य करिब ५ प्रतिशतले घटेर तीन साताकै न्यून विन्दुमा पुगेको छ भने डब्लुटीआई क्रुडको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले स्ट्रेट अफ हर्मुजको दक्षिणी मार्ग अन्तर्राष्ट्रिय पानीजहाजका लागि खुला रहेको जनाएको छ। तर, क्षेत्रीय तनाव र सुरक्षा जोखिमका कारण जहाज सञ्चालन अझै चुनौतीपूर्ण रहेको विश्लेषकहरूले बताएका छन्।
यता, इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गर्दै ओमानमार्फत मध्यस्थतामा छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले जलमार्गबाट जहाज आवतजावतका लागि नयाँ व्यवस्थाबारे ओमानसँग सकारात्मक छलफल भइरहेको बताएका छन्।
विश्वको करिब पाँच भागको एक भाग तेल तथा तरल प्राकृतिक ग्यास आपूर्ति हुने प्रमुख मार्गका रूपमा रहेको स्ट्रेट अफ हर्मुजमा अवरोध हुँदा विश्व उर्जा बजारमा ठूलो असर परेको छ। यसअघि तनाव बढ्दा तेलको मूल्य १२० डलरभन्दा माथि पुगेको थियो भने वार्ताको सम्भावना देखिँदा पुनः घट्ने गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।