काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा स्ट्रेट अफ हर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’का रूपमा देखाइएको नक्सासहितको सामग्री सार्वजनिक गरेका छन्। रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने उक्त जलमार्गमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबीसमेत नक्सामा गरिएको छ।
ट्रम्पको यो अभिव्यक्ति इरानले अमेरिकी नौसैनिक नाकाबन्दी नहटेसम्म हर्मुज जलमार्ग नखोल्ने अडान सार्वजनिक गरेको केही समयपछि आएको हो।
इरानी उपविदेशमन्त्री काजेम घरीबाबादीले ट्रम्पको दाबीको सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्। उनले हर्मुज जलमार्गलाई अमेरिकी भू–भागका रूपमा घोषणा गर्ने ट्रम्पको अभिव्यक्तिलाई भ्रमपूर्ण दाबीका रूपमा टिप्पणी गरेका छन्।
घरीबाबादीले ट्रम्पले ‘फारसको खाडी’को नाम सही रूपमा लेखेको भन्दै त्यसपछि हर्मुज जलमार्गबारे उनको भ्रम या त आफैँ सच्याइने वा इरानले सच्याउने आशयको टिप्पणी गरेका छन्।
इरानी संसद्का सभामुख मोहम्मद बाकेर घालिबाफले मंगलबार अमेरिकी नौसैनिक नाकाबन्दी हटाएर तेहरानका माग पूरा नभएसम्म हर्मुज जलमार्ग नखोलिने बताएका छन्।
राज्य सञ्चारमाध्यमबाट प्रसारित भाषणमा उनले अमेरिका र इरानबीच भएको समझदारीपत्रमा उल्लेखित प्रतिबद्धता कार्यान्वयन नभएसम्म हर्मुज खोल्न नसकिने स्पष्ट पारे।
हर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक हो। विश्वको तेल तथा ग्यास आपूर्तिको करिब एक–पाँचौँ हिस्सा यही मार्ग हुँदै आवतजावत गर्ने भएकाले यसको अवरोधले विश्वव्यापी ऊर्जा बजारमा गम्भीर प्रभाव पार्न सक्छ।
हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो। ट्रम्पले यसअघि इरानसँग होर्मुज जलमार्ग खोल्ने विषयमा वार्ता भइरहेका बेला ओमानमाथि बमबारी गर्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो।
यता ट्रम्पका दूत तथा उनका ज्वाइँ जारेड कुशनरले भने अमेरिका र इरानबीच निकै सकारात्मक र सक्रिय वार्ता भइरहेको बताएका छन्। यद्यपि, लामो समयदेखि कायम रहेको आपसी अविश्वासका कारण वार्तामा चुनौती कायमै रहेको उनको भनाइ छ।
हर्मुज जलमार्ग खुल्ने वा बन्द रहने विषयले अहिले अमेरिका–इरान सम्बन्ध मात्र नभई विश्वव्यापी तेल आपूर्ति, उर्जा मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा समेत प्रत्यक्ष प्रभाव पार्ने अवस्था सिर्जना गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।