काठमाडौँ। सिप्रदी समूहअन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
कम्पनीहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएका हुन्। सहयोग रकम बाढी प्रभावित परिवारको उद्धार तथा राहत, स्वास्थ्योपचार र क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ।
सिप्रदी समूहले आर्थिक सहयोगसँगै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित ‘सिप्रदीयन सहायता संस्था’मार्फत प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ।
संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमै पुगेर स्थानीय आवश्यकताको पहिचान गर्दै खाद्यान्न, अत्यावश्यक राहत सामग्री तथा अन्य आधारभूत वस्तु वितरणमा जुटेका छन्। प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राखेर स्थानीय तहसँगको समन्वयमा सहयोग उपलब्ध गराइएको समूहको भनाइ छ।
सिप्रदी समूहले राष्ट्रिय विपत्तिको कठिन घडीमा प्रभावित समुदायसँग ऐक्यबद्ध भएर उभिने प्रतिबद्धता व्यक्त गरेको छ। उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर सहकार्य गरिने समूहले जनाएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।