Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 11:58:46
Bizshala
Global IME Bank Limited

हर्मुज जलमार्गमा अमेरिकी कदमलाई समर्थन गरेको भन्दै इरानद्वारा क्यानडाको आलोचना

हर्मुज जलमार्गमा अमेरिकी कदमलाई समर्थन गरेको भन्दै इरानद्वारा क्यानडाको आलोचना
New Office

काठमाण्डौ । हर्मुज जलमार्गमा अमेरिकाको नेतृत्वमा भइरहेको गतिविधिलाई समर्थन गरेको भन्दै इरानले क्यानडाको कडा आलोचना गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले क्यानडाको कदमलाई ‘रणनीतिक भ्रम र दबाबसामु आत्मसमर्पण’ को प्रदर्शन भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै बघाईले क्यानडाले अमेरिकालाई ‘खुसी पार्ने’ नीति अपनाएको आरोप लगाए। उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सार्वभौमिकता र स्वतन्त्रताको अवहेलना गर्दै क्यानडालाई अमेरिकाको भूभागकै रूपमा प्रस्तुत गरेको दिनमै ओटावाले वासिङ्टनलाई समर्थन गर्नु विरोधाभासपूर्ण रहेको छ।

बघाईले ट्रम्पको सोमबारको एउटा सामाजिक सञ्जाल पोस्टलाई संकेत गरेका थिए, जसमा अमेरिकाको भूभागसँगै क्यानडा, ग्रिनल्यान्ड र आइसल्यान्डलाई समेत समेटिएको नक्सा प्रस्तुत गरिएको थियो। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने तथा डेनमार्कअन्तर्गतको स्वायत्त क्षेत्र ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने विषयमा पटक–पटक अभिव्यक्ति दिँदै आएका छन्।

इरानको प्रतिक्रिया क्यानडाले मध्यपूर्वमा इरानका गतिविधिलाई ‘अस्थिरता निम्त्याउने’ भन्दै आलोचना गरेपछि आएको हो। क्यानडाले इरानमाथि प्रतिबन्धसहित दबाब कायम राख्न साझेदार मुलुकहरूसँग सहकार्य गर्ने तथा अमेरिकासहित फ्रान्स र बेलायतको नेतृत्वमा होर्मुज जलडमरूमध्य पुनः सञ्चालनका लागि भइरहेका प्रयासलाई समर्थन गर्ने जनाएको थियो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

इरानी प्रवक्ता बघाईले क्यानडाले एकातिर शान्ति, सुरक्षा, जलमार्गको स्वतन्त्र आवागमन र अन्तर्राष्ट्रिय कानुनको पक्षधर भएको दाबी गर्ने तथा अर्कोतर्फ अमेरिकी सैन्य कारबाहीलाई समर्थन गर्ने काम विश्वसनीय नहुने बताएका छन्। उनले यस्तो नीतिलाई कूटनीति वा जिम्मेवार राज्य सञ्चालन भन्न नसकिने दाबी गर्दै अमेरिकी दबाब र हस्तक्षेपबाट क्यानडा स्वयं पनि सुरक्षित नहुने चेतावनी दिएका छन्।

अमेरिका र क्यानडाबीचको सम्बन्धमा पछिल्लो समय व्यापारिक तनावसमेत बढेको छ। गत महिना दुई देशबीचको व्यापार वार्ता निष्कर्षविहीन बनेपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले अत्यधिक माग राखेको र त्यसको तुलनामा निकै कम प्रस्ताव गरेको बताएका थिए। त्यसपछि क्यानडाली वस्तुमाथि करिब २० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी शुल्क लागू भएको छ भने क्यानडाले पनि त्यसको जवाफमा समान मूल्यको प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ।

इरानले अमेरिकाका अन्य सहयोगी राष्ट्रहरूलाई समेत होर्मुज जलडमरूमध्यमा सैन्य संलग्नताबारे चेतावनी दिँदै आएको छ। दक्षिण कोरियालाई लक्षित गर्दै बघाईले अमेरिकी सैन्य कारबाहीलाई सहयोग गर्ने कुनै पनि कदमले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

दक्षिण कोरियाले भने मध्यपूर्वमा शान्ति र स्थायित्व पुनःस्थापित गर्न सम्बन्धित मुलुकहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ। हर्मुज जलमार्गमा जलयातायातको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक परे सैन्य उपायबारे समेत विचार भइरहेको बताइएको छ।

इरानले हर्मुज जलमार्गमा अमेरिकी नेतृत्वको कुनै पनि सैन्य उपस्थिति वा कारबाहीमा सहभागितालाई आक्रमणमा प्रत्यक्ष समर्थनका रूपमा लिने र त्यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.