काठमाण्डौ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गते सोमबारसम्म रातिको समयमा तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै सम्भावित अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै यात्रामा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।
महासंघले यातायात सञ्चालन गर्नुअघि सम्बन्धित सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्य, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ।
विशेषगरी रातिको समयमा सडकको अवस्था यकिन गर्न कठिन हुने र बाढी तथा पहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले अत्यावश्यकबाहेक राति तथा लामो दूरीको यात्रा नगर्न महासंघले सुझाव दिएको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा तथा लामो दूरीको यात्रा नगर्न सरोकारवालालाई आग्रह गरेको थियो।
महासंघले मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र सतर्कता पालना गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।