काठमाण्डौ । ए.बी.पी. इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले प्रस्तावित आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो। यससम्बन्धी सम्झौता असोज ८ गते सम्पन्न भएको छ।
सम्झौतामा ए.बी.पी. इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन्।
अब कम्पनीको आईपीओ निष्कासन प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिका आधारमा अघि बढाइनेछ। आईपीओ निष्कासन तथा बिक्रीसम्बन्धी सम्पूर्ण व्यवस्थापन सिद्धार्थ क्यापिटलले गर्नेछ।
८ मेगावाटको आयोजना निर्माणाधीन
ए.बी.पी. इनर्जीले हाल नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
रन–अफ–रिभर प्रकृतिको उक्त आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५० लाख रुपैयाँ रहेको छ। आयोजनाको कुल लागत १ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ।
कम्पनीका अनुसार आयोजनाको भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी पुगेको छ। आयोजनाबाट २०८४ वैशाख मसान्तसम्म व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
सिद्धार्थ बैंकको १ अर्ब २३ करोड ऋण लगानी
आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भइसकेको छ। कुल आयोजना लागत १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।
कम्पनीको सञ्चालक समूहमा पूर्णलाल श्रेष्ठ, बलराम खतिवडा तथा प्रविधि उद्यमी अज्गर अली रहेका छन्। अली एफवान सफ्ट इन्टरनेशनल र इसेवाका संस्थापक हुन्।
ए.बी.पी. इनर्जीले नेपालको जलस्रोतको दिगो तथा प्रभावकारी उपयोग गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।