काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको हो।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि एपीएम एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक १० लाख रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३० प्रतिशतका दरले हुने ५७ करोड रुपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
सभाले वरिष्ठ अधिवक्ता हरिशचन्द्र सुवेदीलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय अनुमोदन गरेको छ। निर्वाचन परिणामअनुसार संस्थापक सेयरधनी समूहबाट पवनकुमार गोल्यान, शशीकान्त अग्रवाल, अक्षय गोल्यान र किरणदेवी अग्रवाल सञ्चालकमा निर्वाचित भएका छन्। साधारण सेयरधनी समूहबाट वसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, सञ्चालक समितिको प्रत्येक बैठकमा उपस्थित भएबापत सञ्चालकलाई २० हजार रुपैयाँ बैठक भत्ता दिने निर्णय गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।