काठमाडौं । दोस्रो बजारमा प्रतिकित्ता ५०० रुपैयाँभन्दा माथि सेयरमूल्य रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजनामा बाढीले ठूलो क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेकाले आयोजना कहिलेदेखि पुनः सञ्चालनमा आउँछ भन्ने पनि अनिश्चित बनेको छ।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार असोज २५ गते बिहान बूढीगण्डकी नदीमा अचानक आएको भीषण बाढीले कम्पनीद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुर्याएको हो। प्रसारण लाइन क्षतिग्रस्त भएपछि आयोजना पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ।
असोज २६ गतेको पत्रमार्फत कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जसहित सम्बन्धित निकायलाई घटनाबारे जानकारी गराएको छ। कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामा क्षतिको अवस्था, मर्मतसम्भारमा लाग्ने समय र आयोजना पुनः सञ्चालनको मितिबारे अहिले नै निश्चित रूपमा भन्न नसकिने उल्लेख छ।
दसैं नजिकिँदै गर्दा आयोजना मर्मत र उत्पादन पुनः सुरु गर्ने काम थप चुनौतीपूर्ण बन्ने कम्पनीको भनाइ छ। जनशक्ति परिचालन, आवश्यक सामग्रीको व्यवस्थापन तथा क्षतिग्रस्त संरचनाको मर्मतसम्भारमा कठिनाइ हुने देखिएको सूचनामा उल्लेख छ।
उत्पादन बन्द भएसँगै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी प्रभावित हुने देखिएको छ। मर्मतमा लाग्ने खर्च र उत्पादन बन्द रहने अवधिले वित्तीय नतिजामा पर्ने असर निर्धारण गर्नेछ। तर, कम्पनीले हालसम्म क्षतिको रकम तथा आम्दानीमा पर्न सक्ने प्रभावको विवरण सार्वजनिक गरेको छैन।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।