काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बैंकिङ प्रणालीमा पर्याप्त तरलता, सस्तो ब्याजदर र सेयर कर्जामा नीतिगत सहजता हुँदाहुँदै पनि लगानीकर्ताको मनोबल कमजोर रहेकाले सेयर बजारले अपेक्षित गति लिन नसकेको बताएका छन्।
ढकालका अनुसार अहिले पुँजी बजारका लागि समष्टिगत आर्थिक वातावरण विगतको तुलनामा अनुकूल देखिए पनि नियामक निकायको अस्थिर नीति, असोज मसान्तको वित्तीय दबाब, चाडबाडका लागि बढेको नगद आवश्यकता र प्राकृतिक विपत्तिको असरले बजारलाई दबाबमा राखेको छ।
उनले नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाउनुका साथै कर्जाको पहुँच सहज बनाएको र ब्याजदरसमेत एकल विन्दुमा झरेको उल्लेख गरे। बैंक तथा वित्तीय संस्थामा प्रशस्त लगानीयोग्य रकम रहेको अवस्थामा सामान्यतया बजारमा सकारात्मक प्रभाव देखिनुपर्ने भए पनि अहिले त्यस्तो अवस्था नदेखिएको उनको भनाइ छ। ढकालले यसको प्रमुख कारण लगानीकर्ताको कमजोर मनोबल भएको बताए।
उनका अनुसार नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी व्यवस्था ल्याउँदा सुरुमा १५ दिनअघि सूचना दिनुपर्ने प्रावधान राख्दा बजारमा अनावश्यक त्रास सिर्जना भएको थियो। ठूला सेयरधनीले सेयर बेच्दैछन् भन्ने सूचना सार्वजनिक हुँदा साना लगानीकर्ता आत्तिने र सम्बन्धित कम्पनीको सेयरमूल्यमा दबाब पर्ने जोखिम बढ्ने उनको तर्क छ।
“नियामकले बजारको संवेदनशीलता बुझेर नीति ल्याउनुपर्छ। सरोकारवालासँग पर्याप्त छलफल नगरी ल्याइएका नीतिले बजारमा विश्वास बढाउनेभन्दा पनि अन्योल र त्रास सिर्जना गर्छन्,” ढकालको भनाइ छ।
चौतर्फी विरोधपछि बोर्डले व्यवस्था संशोधन गर्दै ठूलो हिस्सामा सेयर बिक्री गर्ने आधारभूत सेयरधनीले मात्रै पाँच कारोबार दिनअघि सूचना दिनुपर्ने प्रावधान ल्याएको छ। ढकालका अनुसार निर्णय सच्याइनु सकारात्मक भए पनि छोटो अवधिमा नीति परिवर्तन हुँदा नियामकको स्थिरतामाथि प्रश्न उठ्ने अवस्था बनेको छ।
बजार सुस्त हुनुको अर्को प्रमुख कारण असोज मसान्तको आर्थिक दबाब रहेको उनले बताए। त्रैमासिक ब्याज तथा किस्ता भुक्तानीको समय भएकाले उद्योगी, व्यवसायी तथा लगानीकर्तामाथि नगद व्यवस्थापनको दबाब बढेको छ। व्यापार व्यवसाय पूर्ण रूपमा लयमा फर्किन नसकेको अवस्थामा कतिपयले बैंकको दायित्व पूरा गर्न सेयर बिक्री गर्नुपर्ने अवस्था आएको उनको विश्लेषण छ।
त्यसमाथि दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदा नगदको आवश्यकता अझै बढेको छ। यही कारण बजारमा खरिदभन्दा बिक्री दबाब बढी देखिएको ढकालले बताए।
प्राकृतिक विपत्तिले पनि बजारमा नकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको उनको भनाइ छ। पछिल्लो बाढीपहिरोबाट विभिन्न जलविद्युत् आयोजनाको उत्पादन, पहुँचमार्ग र प्रसारण लाइन प्रभावित हुँदा सम्बन्धित कम्पनीको आम्दानी तथा नाफामा असर पर्ने जोखिम बढेको छ।
त्यस्तै, ठूलो भौतिक क्षतिपछि निर्जीवन बीमा कम्पनीमा बीमा दाबी बढ्ने सम्भावनाले पनि लगानीकर्तालाई सशङ्कित बनाएको उनले बताए।
ढकालका अनुसार विगतमा नेपालको सेयर बजार मुख्यतः नेपाल राष्ट्र बैंकको नीतिमा निर्भर रहने गरे पनि अहिले बजारको ध्यान धितोपत्र बोर्डतर्फ सरेको छ।
“राष्ट्र बैंकले पुँजी बजारसँग सम्बन्धित धेरै माग सम्बोधन गरिसकेको छ। अब बजारलाई चाहिएको कुरा नीतिगत स्थिरता र नियामकमाथिको भरोसा हो,” उनले भने।
उनले असोज मसान्तको वित्तीय दबाब हटेपछि र चाडपर्व सकिएपछि बजारमा नगदको दबाब कम हुने अपेक्षा गरे। सेबोनले पनि लगानीकर्ता, ब्रोकर र विज्ञसँग पर्याप्त परामर्श गरेर स्थिर नीति लिएमा बजारले पुनः सकारात्मक लय समात्न सक्ने उनको भनाइ छ।
ढकालका अनुसार अहिले नेपाली सेयर बजारमा पैसाको अभावभन्दा पनि विश्वासको अभाव मुख्य समस्याका रूपमा देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।