काठमाण्डौ । ग्लोबल आइएमई बैंकले काठमाण्डौको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। बैंकले भवन निर्माणका लागि विधिवत् रूपमा भूमिपूजा सम्पन्न गरेको जनाएको छ।
बैंकका अनुसार करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने भवन १२ तले हुनेछ। उक्त संरचना बैंकको प्रशासनिक केन्द्रका रूपमा मात्र नभई संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व र दीर्घकालीन व्यावसायिक दृष्टिकोण प्रतिबिम्बित गर्ने गरी विकास गरिने बताइएको छ।
भवन निर्माणमा नवीनतम इन्जिनियरिङ प्रविधि र वातावरणीय दिगोपनलाई विशेष प्राथमिकता दिइनेछ। जमिनको स्थिरता तथा आसपासको सुरक्षालाई ध्यानमा राख्दै ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिने बैंकले जनाएको छ।
यस्तै भवनमा वर्षाको पानी पुनःप्रयोगका लागि रेन वाटर हार्भेस्टिङ प्रणाली र सौर्य ऊर्जा प्रणाली जडान गरिनेछ। यसमार्फत भवनलाई ऊर्जा-दक्ष तथा पर्यावरणमैत्री बनाउने बैंकको योजना छ।
सेवाग्राही र कर्मचारीको सुविधाका लागि दुई तहको फराकिलो भूमिगत पार्किङको व्यवस्थासमेत गरिनेछ।
ग्लोबल आइएमई बैंकले हाल मुलुकका सबै ७७ जिल्लामा वित्तीय सेवा विस्तार गरिसकेको छ। बैंकले आफ्नो आगामी संस्थागत विस्तारलाई समेत लक्षित गर्दै नयाँ कर्पोरेट भवन निर्माणलाई महत्वपूर्ण पूर्वाधार परियोजनाका रूपमा अघि बढाएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।