काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले परामर्शका लागि बोलाएका अधिकांश संविधानविदले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएका छन् ।
प्रतिनिधिसभाका दुईतिहाई सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिएपछि स्वतः सरकार विघटन भएपछि नयाँ सरकार गठनका लागि संविधानको कुन धारा अनुसार गर्ने भन्ने विषयमा विवाद बढ्ने देखिएपछि राष्ट्रपति पौडेलले केही संविधानविदहरुलाई शितल निवासमा बोलाएर छलफल गरेका थिए ।
सो क्रममा अधिकांशले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाएका हुन् ।
वरिष्ठ अधिवक्ताहरु टिकाराम भट्टराई, हरिहर दाहाल, गोपालकृष्ण घिमिरे, पूर्णमान शाक्य, शेरबहादुर केसी र सिताराम केसी लगायत अधिकांशले संविधानको व्याख्या गर्दै यसअघिका सर्वोच्च अदालतको नजिर लगायतलाई आधार मानेर उपधारा २ बमोजिम नै नयाँ सरकार गठन गर्नुपर्ने सुझाव दिएका थिए ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले भने धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्ने सुझाव दिएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                