काठमाण्डौ । अमेरिकी बुहराष्ट्रिय प्राविधिक कम्पनी इन्टेलले १७ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ । यसका साथै कम्पनीले खर्च कटौती योजना अन्तर्गत कम्पनीका सेयरधनीहरुलाई लाभांश वितरण रोक्ने समेत जनाएको छ ।
अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले बढ्दो चुनौतीका बीच १० बिलियन डलर खर्च कटौती गर्ने योजना अनुरुप आफ्नो १ लाख १६ हजार ५ सय कर्मचारी संख्यालाई पुनरावलोकन गर्ने तयारी भईरहेको जनाएको छ । कम्पनीको यस्तो घोषणा सार्वजनिक भएसँगै कम्पनीको सेयरमूल्यमा बिहिबार झण्डै २० प्रतिशतको पहिरो गएको छ ।
एआई चिपको माग नन–एआई प्रडक्टमा सिफ्ट भएपछि इन्टेलको बिक्रीमा १ प्रतिशतको गिरावट आएको छ । यस कारण कम्पनीले १.६ बिलियन डलरबराबरको आम्दानी गुमाएको छ । जुन कम्पनीले अघिल्लो त्रैमासमा आर्जन गरेको १.५ बिलियन मूल्यबराबरको नाफाभन्दा बढी हो ।