काठमाण्डौ । इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गरी सो बाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यवसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्ने योजना बनाएको छ ।
कम्पनीले कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामाग्री बिक्रि केन्द्र खोलि बिक्रि गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सूप उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्षले बताए । चित्लाङ्ग र हेटौडाबाट उत्पादन सुरु भए पश्चात् दैनिक २,५०० केजीमाथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने उनको भनाई छ ।
च्याउ खेतीसँग सम्बन्धित केही सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा मकवानपुर जिल्लाको थाहा नगरपालिका, वडा नं ९, चित्लाङ्गमा नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट व्यवसायिक रुपमा गोब्रे च्याऊ उत्पादन गर्ने उद्देश्यले विसं २०७१ सालमा इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडको नाममा कम्पनी स्थापना भएको हो ।