काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशभरका विभिन्न जलविद्युत आयोजना प्रभावित बनेका छन् । बाढी पहिरोका कारण लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ ।
यसका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १३ सय मेगावाट बिजुली उत्पादन बन्द भएको विद्युत प्राधिकरणले जनाएको छ । ४५६ मेगावाट माथिल्लो तामाकोशी जलविद्युत् आयोजना शुक्रबार साँझ ७ बजेदेखि बन्द छ ।
कम्पनीका अनुसार यो आयोजनामा कार्यरत ५ जनाको अवस्था अज्ञात रहेको छ ।
यस्तै लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती, माथिल्लो खिम्ती जलविद्युत् आयोजना, तामाकोशी र मान्डु, हेवाखोला र तल्लो हेवा खोलामा क्षति पुगेको छ ।
यस्तै झापाको दमक र इलामस्थित गोदकको बीचमा रहेको काबेली करिडोरको टावर नम्बर ५१ ढल्दा इलाम, पाँचथर र ताप्लेजुङका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ठप्प भएको छ ।