बुधबार, जेष्ठ १३,२०८३ 07:30:55
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 07:30:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चार्जिङमा सानो गल्ती, लाखौंको इभी खरानी !

इभी सुरक्षित कि असुरक्षित ? नेपालका आगलागी घटनाले के भन्छन् ?

Laxmi Sunrise Bank Limited
चार्जिङमा सानो गल्ती, लाखौंको इभी खरानी !
Shivam Cement

-रविन ठकुरी

 

काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला इभीमा हुने आगलागीका घटनाले बेला–बेला सार्वजनिक बहस जन्माउने गरेका छन् । सामाजिक सञ्जालदेखि सर्वसाधारण तहसम्म ‘इभी सुरक्षित हो कि होइन ?’ भन्ने प्रश्न उठ्ने गरेको छ । तर हालसम्म नेपालमा भएका इभी आगलागीका घटनामाथिको अध्ययन र अनुसन्धानले भने फरक चित्र देखाएको छ: अधिकांश घटनाको जडमा प्रविधिभन्दा बढी मानवीय लापरवाही देखिएको छ ।

नेपालका सडकमा हाल करिब ३० हजार विद्युतीय सवारीसाधन सञ्चालनमा छन् । तीमध्ये अहिलेसम्म सार्वजनिक रूपमा करिब ५ वटा आगलागीका घटना मात्र देखिएका छन् । प्रतिशतका हिसाबले हेर्दा यो संख्या करिब ०.०१६ प्रतिशत मात्र हुन आउँछ, जुन अत्यन्त न्यून मानिन्छ ।

यद्यपि, इभीमा हुने एउटा मात्र आगलागीले पनि सर्वसाधारणमा डर र भ्रम फैलाउने गरेको छ । अझ कतिपय अवस्थामा कुनै प्रारम्भिक प्राविधिक रिपोर्ट नआउँदै उत्पादक कम्पनीलाई दोष दिने प्रवृत्ति समेत देखिन्छ । तर नेपालमा भएका अधिकांश घटनाको अध्ययनले भने चार्जिङको गलत तरिका, कमजोर विद्युतीय पूर्वाधार, अनधिकृत उपकरण प्रयोग तथा ‘अफ मार्केट फिटमेन्ट’ जस्ता कारणलाई मुख्य दोषी औंल्याएको छ ।

Bizshala
New Office
CG Motors

नेपालमा भएका इभी आगलागीका घटना

नेपालमा हालसम्म भएका अधिकांश चर्चित इभी आगलागीका घटनामा एउटै समानता देखिन्छ-चार्जिङ प्रणाली वा मानवीय हस्तक्षेपसँग जोडिएको समस्या ।

२०८० साल पुस ९ गते काठमाडौंको बुढानिलकण्ठमा चार्जमा राखिएको अवस्थामा एउटा एमजी जेडएस इभीमा आगलागी भएको थियो । उक्त घटना यति भयावह थियो कि गाडी पूर्ण रूपमा जलेर नष्ट भयो । त्यसपछि २०८१ कात्तिकमा काठमाडौंको सितापाइलामा पार्किङमा राखिएको सेरेस इभीमा अचानक आगलागी भयो । त्यसैगरी, २०८२ चैतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा राखिएको नेटा इभीमा आगलागी भएको घटना पनि सार्वजनिक भयो ।

यसैबीच, धुम्बाराही क्षेत्रमा चार्ज गरिरहेको विद्युतीय बसमा आगलागी भयो भने बाराको पथलैया-निजगढ सडकखण्डमा गुडिरहेको अवस्थामा विद्युतीय माइक्रोबस जलेर नष्ट भएको घटना पनि चर्चामा रह्यो । यद्यपि, ती अधिकांश घटनामा यात्रुहरूको सकुशल उद्धार भएको थियो ।

प्रविधि होइन, प्रयोग गर्ने शैली जोखिमपूर्ण

विज्ञहरूका अनुसार आधुनिक इभी अत्यन्त जटिल र उच्चस्तरीय सुरक्षा प्रणालीयुक्त प्रविधिमा आधारित हुन्छन् । तर नेपालमा धेरै प्रयोगकर्ताले अझै पनि इभीलाई सामान्य पेट्रोल-डिजेल गाडीसरह व्यवहार गर्ने गरेका छन्, जुन ठूलो जोखिमको कारण बन्ने गरेको छ ।

विशेषगरी चार्जिङका क्रममा सामान्य ‘मल्टिप्लग’ वा कम क्षमताको एक्सटेन्सन केबल प्रयोग गर्ने प्रवृत्ति खतरनाक मानिन्छ । इभी चार्जिङका लागि आवश्यक भोल्टेज र लोड धान्न नसक्ने उपकरण प्रयोग हुँदा सर्ट सर्किटको जोखिम बढ्ने गर्छ ।

त्यस्तै, बजारमा इभी खरिद गरेपछि त्यसमा अनधिकृत रूपमा म्युजिक सिस्टम, अतिरिक्त लाइट, वायरिङ वा अन्य उपकरण जडान गर्ने चलन पनि बढ्दो छ । यस्तो ‘अफ मार्केट फिटमेन्ट’ ले गाडीको मौलिक विद्युतीय संरचनामै असर पुर्‍याउन सक्छ ।

Shawant Jang Sijapati

नेपालका लागि टाटा गाडीका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि (Sipradi Trading Pvt. Ltd.) का प्यासेन्जर भेहिकल बिजनेस युनिटका जनरल म्यानेजर सावन्तजंग सिजापतीका अनुसार इभीको मौलिक संरचनामा गैरप्राविधिक हस्तक्षेप गर्नु आगलागी निम्त्याउने प्रमुख कारणमध्ये एक हो । “फ्याक्ट्री फिट प्रणालीलाई अनसाइन्टिफिक तरिकाले परिवर्तन गर्दा पछि गम्भीर समस्या आउन सक्छ,” उनले बताएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

खराब चार्जर र बीएमएस फेलियर पनि जोखिम

इभी आगलागीमा अर्को महत्वपूर्ण पक्ष हो-कम गुणस्तरको चार्जरको प्रयोग । आधिकारिक मापदण्ड नपुगेका चार्जर वा अनधिकृत चार्जिङ प्रणाली प्रयोग गर्दा ब्याट्रीमा असामान्य तापक्रम वृद्धि हुन सक्छ । यसले ब्याट्री सेलमा क्षति पुर्‍याएर आगलागीसम्मको अवस्था सिर्जना गर्न सक्छ ।

विशेषज्ञहरूका अनुसार ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) फेल हुँदा पनि जोखिम उत्पन्न हुन्छ । बीएमएसले तापक्रम, करेन्ट र भोल्टेज नियमन गर्ने भएकाले यसको खराबीले ब्याट्री ‘ओभरहिट’ हुन सक्छ । यद्यपि, बीएमएस फेलियरका कारण हुने आगलागीका घटना भने विश्वभर नै तुलनात्मक रूपमा कम मानिन्छन् ।

ठूलो दुर्घटना, ब्याट्री सेलमा आन्तरिक क्षति वा कमजोर मर्मतसम्भारले पनि इभी आगलागीको जोखिम बढाउन सक्छ ।

इभीभन्दा बढी पेट्रोल गाडी जोखिमपूर्ण ?

अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार विश्वव्यापी तथ्यांक हेर्दा पेट्रोल–डिजेल गाडीमा आगलागी हुने दर इभीको तुलनामा धेरै उच्च छ । तर इभीमा आगलागी हुँदा त्यसले नयाँ प्रविधिप्रतिको डर र मनोवैज्ञानिक प्रभाव बढी सिर्जना गर्ने भएकाले घटना बढी चर्चामा आउने गरेको छ ।

नेपालमा पनि हालसम्म भएका घटनाको संख्या कुल इभीको तुलनामा अत्यन्त न्यून रहेको तथ्यांकले देखाउँछ । त्यसैले ‘इभी असुरक्षित प्रविधि हो’ भन्ने निष्कर्ष निकाल्नु वैज्ञानिक दृष्टिले उचित नहुने जानकारहरूको भनाइ छ ।

समाधान के ?

विशेषज्ञहरूका अनुसार इभी आगलागी नियन्त्रणका लागि उत्पादक कम्पनी, वितरक, प्रयोगकर्ता र नियामक निकाय सबैको संयुक्त जिम्मेवारी आवश्यक छ ।

इभीमा अनधिकृत फिटमेन्ट नगर्ने, आधिकारिक चार्जर मात्र प्रयोग गर्ने, लामो समयसम्म अनावश्यक चार्जमा नराख्ने तथा आधिकारिक सर्भिस सेन्टरबाट मात्रै मर्मतसम्भार गर्ने अभ्यास अपनाउनुपर्ने सुझाव दिइएको छ ।

त्यसैगरी, सरकारले पनि इभीसँग सम्बन्धित उपकरण आयातमा कडा मापदण्ड लागू गर्नुपर्ने, चार्जिङ पूर्वाधारलाई सुरक्षित बनाउने तथा दक्ष प्राविधिक उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

सिप्रदीका जनरल म्यानेजर सिजापतीका अनुसार इभी र त्यसका पार्टपुर्जासम्बन्धी स्पष्ट सरकारी नीति, तालिमप्राप्त जनशक्ति र सुरक्षित पूर्वाधार निर्माण गर्न सके आगलागीका घटना उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.