काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद ब्याज तथा शुल्क आम्दानी बढे पनि सञ्चालन खर्चको दबाबले खुद नाफामा सामान्य गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा २.६६ प्रतिशतले घट्दा सोही त्रैमासमा आर्जित वितरणयोग्य नाफा भने उल्लेख्य बढेको छ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अलेखापरीक्षित वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ खुद नाफा भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले २० करोड ३० लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो।
आम्दानी अघिल्लो वर्षको ६४ करोड ५२ लाख रुपैयाँबाट २.६९ प्रतिशतले बढेर ६६ करोड २५ लाख ६१ हजार रुपैयाँ पुगेको छ। कुल ब्याज आम्दानी ७.८४ प्रतिशतले घटे पनि ब्याज खर्च त्योभन्दा बढी अर्थात् १५.६८ प्रतिशतले घट्दा खुद ब्याज आम्दानी बढ्न सकेको हो।
शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी पनि २३.३६ प्रतिशतले बढेर ८ करोड ७८ लाख १४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ११ लाख ८४ हजार रुपैयाँ थियो। यद्यपि अन्य सञ्चालन आम्दानी घटेकाले बैंकको कुल सञ्चालन आम्दानीको वृद्धिदर २.२६ प्रतिशतमा सीमित भएको छ। यस्तो आम्दानी ७५ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
बैंकको कर्मचारी खर्च १९.६८ प्रतिशतले बढेर २३ करोड ५९ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन खर्च पनि ४४.९६ प्रतिशतले बढेर ९ करोड ९५ लाख रुपैयाँ भएको छ। कर्मचारी खर्च, अन्य सञ्चालन खर्च र ह्रासकट्टीसमेत जोड्दा यस्तो खर्च १९.६२ प्रतिशतले बढेर ३५ करोड २८ लाख रुपैयाँ पुगेको छ।
कर्जा तथा अन्य सम्भावित नोक्सानीबापत छुट्याउनुपर्ने खर्च घट्दा भने बैंकलाई राहत मिलेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १५ करोड ५३ लाख रुपैयाँ रहेको यस्तो खर्च यसपटक २१.४८ प्रतिशतले घटेर १२ करोड २० लाख रुपैयाँमा झरेको छ। यसपछि खुद सञ्चालन आम्दानी ८.५७ प्रतिशतले बढे पनि सञ्चालन खर्चको वृद्धि धान्न नसक्दा सञ्चालन नाफा २९ करोड ५ लाख रुपैयाँबाट घटेर २८ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ।
तर असोज मसान्तमा कायम कुल सञ्चित वितरणयोग्य नाफा भने ५ करोड ५४ लाख ४० हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो मौज्दात ६९ करोड ६४ लाख रुपैयाँ थियो। यो अन्तर बुझ्दा बैंकले यस अवधिमा गरेको लाभांश वितरणलाई समेत हेर्नुपर्ने हुन्छ। विवरणअनुसार बैंकको सुरुको सञ्चित नाफा ८१ करोड ४० लाख रुपैयाँ थियो। त्यसमा चालु त्रैमासको वितरणयोग्य कमाइ थपिए पनि ३० करोड १३ लाख रुपैयाँको बोनस सेयर र ५० करोड २१ लाख रुपैयाँ नगद लाभांश वितरणपछि बाँकी मौज्दात ५ करोड ५४ लाख रुपैयाँ कायम भएको हो।
व्यवसाय विस्तारतर्फ गत असार मसान्तको तुलनामा ग्राहकलाई दिएको कर्जाको खुद मौज्दात ३.३१ प्रतिशतले बढेर ६५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा निक्षेप १.६२ प्रतिशतले बढेर ७९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। कर्जा–निक्षेप अनुपात भने अघिल्लो वर्षको पहिलो त्रैमासको ८४.३१ प्रतिशतबाट बढेर ८५.१४ प्रतिशत कायम भएको छ।
बैंकको कोषको लागत ४.५५ प्रतिशतबाट घटेर ३.५२ प्रतिशतमा आएको छ। आधार दर पनि ६.४४ प्रतिशतबाट घटेर ५.३९ प्रतिशत कायम भएको छ। ब्याजदर अन्तर भने ४.०१ प्रतिशतबाट साँघुरिएर ३.८७ प्रतिशतमा झरेको छ। यसले सस्तो स्रोतको लाभसँगै ब्याजबाट हुने आम्दानीको अन्तर जोगाउने चुनौती पनि रहेको देखाउँछ।
असोज मसान्तसम्म बैंकको चुक्तापुँजी ५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १६.६६ रुपैयाँबाट घटेर १४.८५ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४३.३५ रुपैयाँ रहेको छ। पुँजी पर्याप्तता अनुपात अघिल्लो वर्षको पहिलो त्रैमासको १४.२२ प्रतिशतबाट घटेर १२.५५ प्रतिशत कायम भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।