काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ३ वटा विप्रेषण कम्पनीहरू इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकबाट विप्रेषण कारोबार गर्न इजाजतपत्रप्राप्त नमस्ते रेमिट इन्टरनेशनल, मोडर्न रेमिट्यान्स र भाटभटेनी मनि ट्रान्सफर गरी ३ वटा कम्पनीको इजाजतपत्र खारेज गरिएको हो ।
यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम(१३ को उप(विनियम (५) बमोजिम खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन आग्रह समेत गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा देहायमा उल्लेखित विप्रेषण कम्पनीहरूको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।
खारेज हुने उपरोक्त विप्रेषण कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाब मिलान हुने समेत राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।