काठमाण्डौ । राजनीतिक सत्ता समिकरण फेरबदलको अफबाह फैलिएकै समयमा नेप्सेले ब्रोकरहरुको लिमिटमा कडाई गरेको अफवाह र पुस महिनाको अफ सिजनका कारण यतिबेला बजारमा अन्यौलता आएको छ । तर नेप्सेले सेयर बजारका ब्रोकरहरुको लिमिटमा कडाई गरेको विषयमा कुनै सत्यता नभएको ब्रोकरहरु स्वयंमले बताएका छन् ।
स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले ब्रोकरहरुको लिमिट हेरफेर भएको भन्ने बिषयमा कुनै सत्यता नभएको बताए । यसैगरि, प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६) का सञ्चालक मेघनाथ उपाध्यायले पनि ब्रोकरहरुको लिमिटमा हालसम्म कुनै हेरफेर नभएको प्रतिक्रिया दिए । उपाध्यायले नेप्सेमा सिताराम थपलिया सीईओ हुँदा ५० गुणासम्म लिमिट रहेको बताए । ‘तरपछि यसलाई घटाएर २५ गुणामा झारिएको थियो । त्यसपछि हालसम्म पनि त्यही नै कायम रहेको छ,’ उनले भने ।
यसै विषयमा नाम उल्लेख नगर्ने सर्तमा एक ब्रोकरले अहिले पनि एउटै ब्रोकरमा अर्ब माथिको लिमिट रहेको बताए । ती ब्रोकरले लिमिटमा कुनै समस्या छैन । ‘तर लिमिट रहेको भन्दैमा सबै ग्राहकले अन्धाधुन्द लिमिट भने ब्रोकरले दिन सक्दैनन् । खासमा कोल्याट्रल लोड गरेर ग्राहकले आफ्नो लिमिट आफै अपलोड गर्न सक्छन्,’उनले भने । हाल ग्राहक र पोर्टफोलियो हेरेर लगानीकर्ताहरुलाई २ देखि ४ गुणासम्म ब्रोकरले लिमिट दिने गरेको पनि ती ब्रोकरले दाबी गरे ।