काठमाण्डौ । पहलगाम हमलापछि पाकिस्तानसँग बढ्दो तनावको बीचमा भारतले बुधबार पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । पाकिस्तानले यसअघि भारतीय हवाई कम्पनीलाई आफ्नो हवाई मार्ग प्रयोगमा रोक लगाएसँगै भारतले पनि यस्तो कदम चालेको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले भने कि यो प्रतिबन्ध मे १ देखि मे २३ सम्म लागू हुनेछ। यस सम्बन्धमा, भारतीय एयरपोर्ट्स अथोरिटी (एएआई) ले बुधबार साँझ विज्ञप्ती जारी गरेको छ।
एनओटीएम अर्थात् ‘नोटिस टु एयरमेन’ एयरस्पेसमा उडानहरूको सम्बन्धमा जारी गरिन्छ। यस प्रतिबन्धको अर्थ पाकिस्तानमा दर्ता भएका, पाकिस्तानी एयरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्व वा भाडामा लिएका विमानहरूका लागि भारतीय वायुक्षेत्र उपलब्ध हुनेछैन।
एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईलाई दिएको जानकारी अनुसार प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुनेछ। भारत र पाकिस्तानबीच सिधा उडान छैन । पाकिस्तानी एयरलाइन्सहरूले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरूमा उडानका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्छन्।
अप्रिल २२ मा पहलगाम हमलाको एक दिनपछि २३ अप्रिलमा भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको थियो। जसमा सिन्धु जल सन्धि निलम्बन अटारीको एकमात्र सञ्चालन हुने भूमि सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्ध घटाउने समावेश छ।
जवाफमा पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशहरूमार्फत भारतसँगको सबै व्यापार बन्द गर्ने निर्णय गरेको थियो ।
सिन्धु जल सन्धिका सम्बन्धमा पाकिस्तानले पानी रोक्न वा डाइभर्ट गर्ने प्रयास गरेमा त्यसलाई ‘युद्धको कार्य’ मान्ने बताएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।