काठमाण्डौ । बंगलादेशले शेख हसिना र असदुज्जमान खान कमललाई सुपुर्दगी गर्न माग गरेको छ । दुवै जना अहिले भारतमा बस्दै आएका छन् ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमल दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
यो निर्णयपछि सोमबार बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको हो । जसमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको फैसलामा भगोड़ा शेख हसिना र असदुज्जमान खान कमल दोषी ठहर भएका छन् । मानवता विरुद्धको अपराधमा दोषी ठहर भएका यी व्यक्तिहरूलाई कुनै पनि देशले शरण दियो भने त्यो अमित्र व्यवहार र न्यायको अवहेलनाको गम्भीर कार्य हुनेछ।’
बंगलादेशले यसअघि पनि शेख हसिनालाई फिर्ता पठाउन औपचारिक रूपमा धेरै पटक पत्र पठाएको छ। तर, भारतले उक्त निवेदनमा कुनै प्रतिक्रिया दिएको छैन ।

