काठमाण्डौ । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर निष्काशन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल २५ लाख १८ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
यस सम्बन्धमा २०८२ साल मंसिर ०८ गते, काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसांग श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।
सिनामंगल, काठमाण्डौमास्थित कार्यालय रहेको टिम भेञ्चर्स लिमिटेड विसं २०७३ सालमा स्थापना भएको इनभेष्टमेन्ट कम्पनी हो । उक्त कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब रहेको छ । कम्पनीले हाल ऊर्जा क्षेत्र (हाइड्रोपावर र सोलार), उत्पादन क्षेत्र (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार र प्रविधि क्षेत्रमा लगानी गरेको छ ।
भविष्यमा कम्पनीले लगानीका अन्य श्रेत्रमा अवसरहरू खोज्ने योजना बनाएको छ । उक्त कम्पनीको अन्य संचालकमा लोप्साङ श्रेष्ठ, श्री दोर्जे ग्याल्छेन लामा, साङ्गे दिकी शेर्पा र विजय बहादुर श्रेष्ठ रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा तेन्जिङ सोनाम गोन्सार रहेका छन् ।

