काठमाण्डौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेसँगै त्यहाँको सेयरबजारमा उछाल आएको छ । राजधानी काराकास स्थित बोल्सा दे भ्यालेरेस दे काराकास (बीभीसी) ले जनवरी ५ मा लगभग १७ प्रतिशतको वृद्धि दर्ता गरेको छ। यो वृद्धिको पछाडि मुख्य कारणको रुपमा अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नु रहेको जनाइएको छ ।
सोही दिन बीभीसीको इन्डेक्स १६.४५ प्रतिशतले वृद्धि भई २,५९७.७ विन्दुमा बन्द भएको थियो । जुन पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो एक दिने वृद्धि हो। यसका कारण लगानीकर्ताहरूले भेनेजुएलाको राजनीतिक र आर्थिक वातावरणमा सकारात्मक परिवर्तन हुने आशा गरेका छन्।
भेनेजुएलाका सर्वेरेन र राज्य स्वामित्वको तेल कम्पनी पीडीभीएसएका बन्डहरूमा पनि मादुरोको पक्राउपछि उच्च मूल्य देखिएको छ। हालको बजार मूल्यमा पीडीभीएसए र भेनेजुएला सरकारका बन्डहरू करिब २३–३३ सेन्ट प्रति डलर पुगेका छन्। विशेषज्ञहरूले नयाँ सरकार स्थापना भएपछि ऋण पुनर्संरचना हुने सम्भावना बढेसँगै भविष्यमा यी बन्डहरूको मूल्य ५०–६० सेन्टसम्म पुग्न सक्ने आँकलन गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामा नेतृत्व हस्तान्तरण नहुँदासम्म अस्थायी रूपमा व्यवस्थापन गर्ने र तेल पूर्वाधार पुनर्स्थापना र प्रशासनमा ध्यान दिने बताएका छन् ।
भेनेजुएलाको ऋण स्थिति जटिल छ, जहाँ करिब १५४ अर्ब डलरबराबरका डिफल्टेड बन्ड, ऋण र विभिन्न अन्तर्राष्ट्रिय कर्जदातालाई ठूलो ऋण तिर्न बाँकी छन्। देशको ऋण पुनर्संरचना स्थायी सरकार स्थापना भएपछि मात्र सम्भव हुने विश्लेषकहरूले बताएका छन्।
लगानीकर्ताहरूले विशेष रूपमा भेनेजुएलाको पीडीभीएसए बन्ड र सरकारी बन्डहरू मा ठूलो चासो देखाएका छन् ।

