काठमाण्डौ । आम्दानी बढेसँगै माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको नाफामा १४०.६३ प्रतिशतको बढोत्तरी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८ करोड ५६ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले २२ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.९२ प्रतिशतले बढी हो । यो अवधिसम्म कम्पनीले १० लाख ८८ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक र अन्य सञ्चालन खर्च १ करोड १६ लाख र वित्त खर्च ७ करोड ३१ लाख रुपैयाँबराबर रहेको छ ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीको वित्त खर्च ९ करोड १६ लाख रुपैयाँबराबर थियो ।
१ अर्ब चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २ करोड ११ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यो अवधिमा कम्पनीले अन्य रिजर्भमा १५ लाख ५६ हजार रुपैयाँ सञ्चित गरेको छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति २८ करोड ८७ लाख र कुल चालु दायित्व ११ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.५७ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ९७.८९ रुपैयाँ र तरलता अनुपात २.५० प्रतिशत कायम भएको छ ।

