काठमाण्डौ । सेयरबजारले अपेक्षा गरिएअनुसार गति लिन नसक्दा लगानीकर्ताको ध्यान फेरि एकपटक ‘आर्थिक आधार’ भन्दा बढी ‘मनोविज्ञान’तर्फ केन्द्रित हुन थालेको छ। ब्याजदर घट्दो क्रममा, तरलता प्रशस्त र नीतिगत अवरोधहरू क्रमशः हट्दै जाँदा पनि बजार सुस्त हुनुको मूल कारण लगानीकर्ताको कमजोर आत्मविश्वास बनेको छ।
पछिल्लो समय देशमा देखिएको राजनीतिक उतारचढाव, विशेषतः जेनजी आन्दोलनपछिको अस्थिरताले पूँजीबजारमा गहिरो असर पारेको थियो। त्यसमा पनि चुनाव हुने कि नहुने भन्ने लामो अन्योलताले लगानीकर्तालाई ‘पर्ख र हेर’को मानसिकतामा धकेल्यो। अहिले चुनाव हुने लगभग निश्चित भइसकेको र राजनीतिक स्थिरताका केही संकेत देखिन थाले पनि बजारमा उत्साह फर्किन सकेको छैन।
नीतिगत रूपमा हेर्दा नेपाल धितोपत्र बोर्ड ले लामो समयदेखि प्रतीक्षित मार्जिन कारोबारसम्बन्धी निर्देशिका, २०८२ लागू गरिसकेको छ। यसले धितोपत्र दलालदेखि आम लगानीकर्तासम्म सकारात्मक सन्देश दिनुपर्ने थियो। तर, नीति स्पष्ट भइसकेपछि पनि बजार लयमा फर्किन नसक्नुले मनोवैज्ञानिक अवरोध कति गहिरो छ भन्ने देखाउँछ।
नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारका अनुसार समस्या चुनाव हुने–नहुनेको अन्योल मात्र होइन, चुनावपछि बन्ने सरकार र त्यसको नीतिगत दिशाप्रति रहेको अनिश्चितता हो। “घोषणापत्रमा आर्थिक एजेन्डा राम्रै देखिए पनि कार्यान्वयनको ग्यारेन्टी नहुँदा लगानीकर्ता ढुक्क हुन सकेका छैनन्,” उनी भन्छन्। उनका अनुसार चुनावअघि केही समूहबाट हुन सक्ने अराजक गतिविधिका हल्लाले पनि बजारमा नकारात्मक सन्देश गएको छ।
बजारका आधारभूत सूचकहरू भने सकारात्मक देखिन्छन्। नेपाल राष्ट्र बैंक का तथ्यांकले तरलता पर्याप्त रहेको र सस्तो ब्याजदरमा कर्जा लिएर लगानी गर्न सकिने अवस्था देखाए पनि ‘मास साइकोलोजी’ले बजारलाई बाँधिरहेको रौनियारको तर्क छ। “यदि चुनावपछि पनि अस्थिर गठबन्धनकै सरकार आयो भने लगानी वातावरण फेरि कमजोर हुने डर अझै बाँकी छ,” उनी थप्छन्।
अर्थशास्त्री सूर्यनारायण पौडेल पनि यही धारणा राख्छन्। उनका अनुसार दीर्घकालीन लगानीकर्ता र संस्थागत लगानीकर्ताहरू राजनीतिक अनिश्चितताका कारण बजारमा प्रवेश गर्न हिच्किचाइरहेका छन्। “चुनावपछि कस्तो सरकार बन्छ र उसले पूँजीबजारसम्बन्धी कस्ता नीतिहरू ल्याउँछ भन्ने अन्योलताले लगानीकर्ता अहिले ‘पर्ख र हेर’मै सीमित छन्,” उनी भन्छन्।
ब्रोकर कम्पनीका एक प्रमुख कार्यकारीका अनुसार बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि त्यो पैसा बजारमा अपेक्षित रूपमा प्रवेश गर्न सकेको छैन। “पैसा छ, तर आत्मविश्वास छैन,” उनी भन्छन्, “राजनीतिक स्थिरता र स्पष्ट नीतिगत संकेत नआएसम्म लगानीकर्ता खुलेर बजारमा आउँदैनन्।”
निष्कर्षतः, नीतिगत अवरोध हट्दै गएको र आर्थिक सूचकहरू अनुकूल बन्दै जाँदा पनि सेयरबजारलाई चलायमान बनाउन सबैभन्दा पहिले लगानीकर्ताको आत्मविश्वास पुनःस्थापित गर्नुपर्ने देखिन्छ। राजनीतिक स्थिरता र स्पष्ट नीतिगत दिशा बिना बजारले लय लिने सम्भावना अझै टाढै देखिन्छ।

