काठमाण्डौ । लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेको भारतीय एडटेक कम्पनी बायजुलाई फेरी अर्को झट्का लागेको छ । फोर्ब्सले जारी गरेको अर्बपतिहरुको सूचीमा बायजुका संस्थापक बायजु रबिन्द्रनको नेटवर्थ शुन्य भएको जनाइएको छ । रबिन्द्रन गत वर्ष भारतको सबैभन्दा युवा अरबपतिको सूचीमा थिए ।
बायजुमा आर्थिक संकट झन बढ्दो छ । कम्पनीले कर्मचारीलाई समेत तलब दिन सकिरहेको छैन । रबिन्द्रन फोर्ब्सको अरबपतिको सूचीबाट समेत बाहिरिएका छन् । एक वर्षअघि उनी २.१ अर्ब डलर सम्पत्तिको मालिक थिए । तर अहिले फोर्ब्सले जारी गरेको नयाँ सूचीमा उनको कुल सम्पत्ति शुन्य जनाइएको छ ।
फोर्ब्सका अनुसार आर्थिक संकटका कारण कम्पनीको भ्यालुएसन २२ अर्ब डलरबाट घटेर १ अर्ब डलरमा सीमित भएको छ ।
कम्पनीले नगद संकटबाट पार पाउनका लागि हकप्रद सेयर जारी गरेको थियो । तर यस विषयमा मिसम्यानेजमेन्टको आरोप लगाउँदै कम्पनीका लगानीकर्ताले ‘नेशनल कम्पनी ल ट्रिब्युनल’मा मुद्दा दायर गरेका छन् । कम्पनीका ४ लगानीकर्ता प्रोसस,जनरल अटलान्टीक,सोफिना र पी एक्सभीले बायजुको २२ अर्ब डलरको स्तरबाट ९९ कमको भ्यालुएसनमा हकप्रद जारी गर्न रोक लगाउन माग गरेको थियो । जसका कारण विवाद झनै गहिरिएको थियो ।
बायजु ईजीएममा कम्पनीको ६० प्रतिशतभन्दा बढी सेयरधनीहरुले कम्पनीका संस्थापक तथा सीईओ बायजु रन्द्रिनका साथै उनका परिवारका सदस्यलाई कम्पनीको बोर्डबाट हटाउने प्रस्तावमा मतदान गरेका थिए ।
बायजुको स्थापना सन् २०११ मा बायजु रबिन्द्रन र उनकी पत्नी दिव्या गोकुलनाथले गरेकी थिइन् । बायजु लर्निङ एपको रुपमा चर्चित बनेको थियो ।