काठमाण्डौ । पाँच कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । एक हाइड्रो, एक लगानी, एक होटल, एक उत्पादन तथा प्रशोधन र एक अन्य समूहअन्तर्गतको कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन् ।
होटल समूहअन्तर्गतको बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति माग्दै गत चैत १६ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
त्यस्तै, हाइड्रो समूहअन्तर्गत सभापोखरी हाइड्रोपावर लिमिटेडले पनि १०० रुपैयाँ अंकित मूल्यमा १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीले पनि चैत १६ गते बोर्डमा निवेदन दिएको हो । बिक्री प्रबन्धकमा भने आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
यसका साथै उत्पादन तथा प्रशोधन समूहअन्तर्गत नेशनल वायोटेक लिमिटेडले पनि अंकित मूल्य १०० रुपैयाँ दरमै १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले चैत १६ गते बोर्डमा निवेदन दिएको हो । बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
यता लगानी समूहअन्तर्गत भने इष्टर्न साहारा कम्पनी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरकै २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ । यो कम्पनीले पनि चैत १६ गते नै निवेदन दिएको हो । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
साथै अन्य समूहअन्तर्गत पशुपति रिन्यूएबल्सले पनि १०० रुपैयाँ अंकित मूल्यमै १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीले पनि चैत १६ गते बोर्डमा निवेदन दिएको थियो । बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

